२०८२ बैशाख ३०
बुटवल ११ माघ ।
रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि.ले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । रुपन्देही जिल्ला भित्रका विद्यालयहरुबीच आत्मीयता कायम गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताए
प्रतियोगितामा रुपन्देहीमा रहेका विद्यालयहरुबाट एक जना छात्रा अनिवार्य रहने गरी तीन जना विद्यार्थीले सहभागीता जनाउनेछन् । प्रतियोगितामा करीव ५० विद्यालयको सहभागिता रहने अपेक्षा गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयको ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता यही माघ १५ गते मंगलबार दुइ चरणमा हुनेछ । लिखित चरणबाट छनौट भएका ६ वटा विद्यालयका विद्यार्थीहरुबीच अन्तिम प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.१२ हजार, द्वितीय हुनेलाई नगद रु. ९ हजार, तृतीय हुनेलाई नगद रु. ७ हजार र प्रोत्साहन स्थान प्राप्त गर्ने समूहलाई रु. ४ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मोहन पौड्यालले बताए ।
वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत रहेको विद्यालयका सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिए ।
यसैबिच वार्षिकोत्सवको अवसरमा विभिन्न तहमा दौड, भलिवल, घैटो फोड, कुर्सी दौड, साहित्यिक लगायतका प्रतियोगिता भैरहेको विद्यालयले जनाएको छ ।