२०८१ चैत्र १

समानिकरणको अनुदान नपठाउदा प्रदेशलाई आर्थिक भारः मुख्यमन्त्री आचार्य
  • लुम्बिनी खोज
  • २०८१ माघ २५, शुक्रबार १३:१४ गते

बुटवल २५ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले गत बर्ष समानिकरणको अनुदान रकम नपठाउदा प्रदेश सरकारलाई आर्थिक भार थपिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रहरुसंग गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री आचार्यले समानिकरणको अनुदान रकम प्राप्त नहुदा प्रदेश सरकारलाई दुई अर्ब बढी आर्थिक दायित्व थपिएको बताए । अहिले थपिएको दायित्व भुक्तानी गर्न असजिलो भएको भन्दै उनले संघीय सरकारको ध्यानाकर्षण गराए।‘गत बर्षको दायित्व प्रदेशमा थपिएको छ । समानिकरण अनुदानको बजेट नआउदा प्रदेशलाई आर्थिक दायित्व थपियो’उनले भने,‘यस बारेमा संघीय सरकारले पुर्नविचार गरेर सम्वोधन गरेमा सहज हुने थियो ।’
लुम्बिनी प्रदेशमा संघीय सरकारबाट हस्तान्तरण भएका ठेक्का आयोजनामा चालु आर्थिक बर्षमा संघीय सरकारले बजेट विनियोजन नगर्दा समस्या परेको समेत उनले बताए । सडक पूर्वाधार विकास मन्त्रालय अन्तरत १० वटा आयोजनामा बजेट नहुदा कार्यान्वयन गर्न समस्या परेको छ । खानेपानी आयोजनाहरुमा पनि आवश्यक भन्दा थोरै बजेट हुदा अन्तिम चरणमा पुगेका आयोजनाहरुलाई समेत सम्पन्न गर्न चुनौती थपिएको गुनासो उनले राखे । प्रदेशमा संघीय सरकार मार्फत सञ्चालन भएका पूर्वाधार अन्तरगत सडक तथा सिंचाई आयोजनाको गति बढाउन र समयमा सम्पन्न गर्न तर्फ जोड दिए ।
प्रदेश सरकारले चार वटा आयोजनालाई प्रदेश गौरवको आयोजनाको रुपमा अघि बढाएको, कामहरुले गति लिएको जानकारी पनि उनले गराए । भौतिक प्रगतीको आधारमा भुक्तानी गर्न बजेट अभाव रहेको भन्दै स्रोत सुनिश्चितताको लागि उनले आग्रह पनि गरे । प्रदेशमा सबै वालीकोलागि २ लाख ५५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भएपनि बार्षिक ९६ हजार मेट्रिक टनको आधारमा प्राप्त हुने गरेको, रासायनिक मल आवश्यकताको आधारमा किसानलाई उपलब्ध गराउन नसकिएको, वितरण प्रक्रियालाई सहज बनाउन उनले आग्रह गरे ।