२०८१ माघ ३०
बुटवल २६ माघ ।
बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने भएको छ । रन टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बैंकले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको जानाकारी गराएको छ । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड स्थापित भएको भन्दै विभिन्न सामाजिक क्रियाकलापमा बैंकलाई अग्रणी रुपमा सामेल गर्दै आएको र त्यसैको निरन्तरता स्वरुपमा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्य सहित राष्ट्रिय स्तरको दौड प्रतियोगितालाई घोषणा गरेको बताए । यसले खेल क्षेत्रको विकासमा योगदान पुग्ने तथा स्वस्थ्य जीवनका लागि दौड महत्वपूर्ण रहेको छ भन्ने सन्देश पनि दिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट डब्लु डब्लु डब्लु डटएसआरडीबी डट कम डट एनपी मा गई नाम दर्ता गर्न सक्ने बैंकले जनाएको छ । दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरुको समेत समन्वय र सहकार्य हुनेछ ।