२०८२ बैशाख ३०

दबाब वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियारलाई राष्ट्रपतिको सुझाव
  • लुम्बिनी खोज
  • २०८१ माघ २८, सोमबार १०:०७ गते

काठमाडौ , २८ माघ ।
राष्ट्रपति रामचन्द्र पौडेलले कसैको दबाब वा प्रभावमा नपरी कार्यसम्पादन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिएका छन् ।
आयोगको ३४ औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले कसुर र कसुरदार ठूलो वा सानो नभनी काम र कसैको दवाव वा प्रभावमा नपरी कार्यसम्पादन गर्न सुझाव दिएका हुन । उनले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै जानुपर्ने बताए । उनले सूचनाप्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताए । राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै यसमा ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।
त्यस्तै अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राइले सार्वजनिक स्रोत र राज्य शक्तिको प्रयोग गर्ने पदाधिकारीमा सदाचार संस्कृतिको विकास गर्न सचेतना, प्रचार प्रसार र सहकार्यको रणनीति अवलम्बन गरिएको बताए । उनले आयोजना निर्माण ढिलाई हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नुपरेको भन्दै खरिद योजनालाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले अख्तियारका उत्कृष्ट कर्मचारीका साथै सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।