२०८२ बैशाख २६
कपिलवस्तु, १२ फागुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
मायादेवी गाउँपालिका १, पकडी, कपिलवस्तुमा आयोजित अल–मरकजुल इस्लामी वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
धेरै बालबालिका अझै पनि विद्यालय शिक्षाबाट बञ्चित छन् । विशेष गरी छोरीहरूको विद्यालय जाने दर न्यून छ। छोराछोरीलाई समान अवसर र शिक्षा दिनुपर्छ,उनले भने ।
मुख्यमन्त्री आचार्यले उमेर नपुगी हुने विवाहको समस्या गम्भीर रूपमा बढ्दै गएको भन्दै चिन्ता पनि व्यक्त गरे। २० वर्ष नपुग्दै विवाह गर्नु कानुनतः निषेध छ। तर सीमावर्ती क्षेत्रमा बाल विवाह रोक्न अझै पनि सकिएको छैन । यो समस्या समाधान गर्न समुदायमा जागरणको खाँचो छ, उनले भने, बाल विवाहले गम्भीर समस्या निम्त्याउछ । यसलाई सामान्य रुपमा लिन हुदैन ।
उनले मुस्लिम समुदायभित्र रहेका सामाजिक समस्याहरू समाधान गर्न समुदायका अगुवाहरूले अग्रसरता लिनुपर्नेमा जोड दिए । मौलाना साथीहरूले समुदायमा सचेतना फैलाउनु आवश्यक छ। समाज परिवर्तनका लागि तपाईंहरूको योगदान जरुरी छ,उनले भने ।
मुख्यमन्त्री आचार्यले पुरानो सोच परित्याग गरी नयाँ विचार र दृष्टिकोणका साथ अघि बढ्न आह्वान गरे । परम्परादेखि चल्दै आएका केही विकृति युक्त प्रथाहरूलाई निरुत्साहित गर्न जरुरी छ,उनले भने, हामी सबैको भावना एउटै हो, हामी देशप्रेमी हौं । यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिको अन्त्य गर्न जरुरी छ, र त्यसका लागि समुदायका अगुवा तपाईंहरू अघि बढ्नुपर्छ ।
प्रदेश सरकार मुस्लिम समुदायको शैक्षिक तथा सामाजिक विकासमा प्रतिबद्ध रहेको र यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याइरहेको पनि उनले बताए ।