२०८१ चैत्र ३१

पाणिनि तपोभूमि सम्मेलनद्धारा ७ बुँदे घोषणापत्र जारी
  • लुम्बिनी खोज
  • २०८१ चैत्र २८, बिहीबार १३:५० गते

संस्कृत भाषा र व्याकरणलाई आधुनिक शिक्षामा समेट्न आग्रह

बुटवल २८ चैत ।
महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँचीको पाणिनि तपोभूमिमा सम्पन्न दुई दिने पाणिनि तपोभूमि सम्मेलनले ७ बुँदे घोषणा पत्र जारी गरेको छ ।
पत्रकार तथा लेखक डीआर घिमिरेको संयोजकत्वमा तयार पारिएको घोषणा पत्रमा संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने देखि विभिन्न वुद्धा समेटिएको छ । नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुपर्ने देखि छिमेकी जिल्लाका धार्मिक साँस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने कुरा पनि घोषणपत्रमा समेटिएको छ ।
त्यस्तै महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने तथा पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने ठहर घोषणा पत्रमा गरिएको छ । गुरुयोजनाका लागि विभिन्न सरोकावाला निकाय र विज्ञहरुसँगको परामर्शबाट सम्पदा मैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि वढाउने घोषणा पनि गरिएको छ ।
पाणिनिको महत्वदेखि गुरुयोजना सम्मका ४ वटा कार्यपत्र
सम्मेलनमा पाणिनीसग सम्वन्धित विभिन्न विषयमा छलफल भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनी गाउपालिका र पाल्पाको रैनादेवी छहरा गाउपालिकाको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनमा ४ वटा कार्यपत्र माथि छलफल भएको थियो ।
४ वटा कार्यपत्र मार्फत यहाको महत्व देखि विकाससम्मका विषयमा गहन चिन्तन मनन गरिएको थियो । पर्यटन विकास परिषद बुटवलका अधिकृत शंकर पौडेलका अनुसार यहा नेपाल राष्ट्रिय माविका पूर्व प्रअ रामप्रसाद पोखरेलले महर्षि पाणिनि तपोभूमी परिचय र महत्व विषयमा प्रस्तुत गरेको कार्यपत्र माथि नेपाल सरकारका पूर्व उपसचिवहरु सूर्यप्रसाद भुसाल र रामप्रसाद भट्टराईले टिप्पणी गरेका थिए ।
त्यस्तै यहा प्राध्यापक नवराज पाण्डेयले पाणिनिका सुत्र र कृति विषयमा प्रस्तुत गरेर्को कार्यपत्र माथि रुरु सस्कृत विद्यापिठका उपप्रध्यापक भरत भट्टराईले टिप्पणी गरेका थिए । संस्कृत भाषा र साहित्य विषयमा नेपाल सस्कृत विश्वविद्यालय बेलझुण्डी दाङका प्रा. डा. गुरुप्रसाद सुवेदीले प्रस्तुत गरेको कार्यपत्रमा प्रा. रमेश ढकालले टिप्पणी गरेका थिए । पाणिनी तपोभूमीको गुरुयोजना विषयमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर भिमार्जुन पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लिराज आचार्यले टिप्पणी गरेका थिए । समग्रमा यी चार वटा कार्यपत्र माथि गहन छलफल गरी पाणिनिको विकासमा महत्वपूर्ण योगदान पुग्ने गरी घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको आयोजकले बताएका छन् ।
महषि पाणिनि ऋषिले पाणिनि गाउँपालिकाको पाणिनीमा तपस्या गरेको इतिहास छ । पाणिनिलाई संस्कृत व्याकरणका पिता मानिँदै आएको छ । महान व्याकरणका रचयिता तथा भाषाविद् पाणिनिले प्रमुख ग्रन्थ “अष्टाध्यायी“को रचना यसै ठाउँमा गरेका थिए । जसमा संस्कृत भाषाका सम्पूर्ण सूत्र व्यवस्थित गरिएका छन् । पाणिनि तपोभूमिको गरिमा र महत्वलाई उजागार गर्दै यहाको विकासमा ध्यान केन्द्रीत गर्न सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै नेपालको भुमी ध्यानभूमि, ज्ञानभूमि तथा देवभूमिका रूपमा रहेको भन्दै यसका लागि महर्षि पाणिनिसहितको ऋषिहरुको ठूलो भूमिका रहेको बताएका थिए ।
बुँदे घोषणापत्रमा के छ ?
१) पाणिनि व्याकरण र संस्कृत भाषा प्रवद्र्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरणको अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने ।
२)राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना र सञ्चालनका लागि सस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने ।
३)पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सृजनाको स्थल भएकोले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्न सक्ने गरी अनुसन्धान र सृजनाको लागि पूर्वाधारको व्यवस्था गरिने ।
४) पाणिनि तपोभूमिको वरपर दुर्वासा मुनिको आश्रम छ । महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र छ । प्रख्यात् काली गण्डकी नदीको संगम छ । यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल छ । नर्तनाचलमै ऐतिहासिक सुपा देउराली मन्दिर र दक्षिणी भागमा रामले वाणंले हानेर पहरो फोरेर पानी निकालेको बांणगंगा नदी छ । यिनै पृष्ठभूमिमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक साँस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने ।
५) महर्षि पाणिनिय व्याकरणसम्वन्धी प्रारम्भिक ज्ञान प्रदान गर्नका लागि अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नका लागि पाठ्यपुस्तक तयारी गरिने ।
६) पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने भएकोले विभिन्न सरोकावाला निकाय र विज्ञहरुसँगको परामर्शबाट सम्पदा मैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई अगाडि वढाउने ।
७) पाणिनि क्षेत्रको विकासका लागि यस जिल्ला र क्षेत्रका वासिन्दालगायत सवै सरकारी गैरसरकारी संघसस्थाहरुबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जाहेर गर्दछौं ।