२०८२ बैशाख १३
लुम्बिनी १३ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धले देखाएको अहिंसा र शान्तिको मार्गलाई संसारभर फैलाउने बेला आएको बताएका छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले बौद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्ने बताए ।
उनले बौद्धधर्म, कला, साहित्य, इतिहास, अनुसन्धान र अन्तरसंवादका माध्यमबाट एसियाली बौद्धसंस्कृति र सम्पदाको प्रवद्र्धन गरी विश्वशान्ति स्थापनामा महोत्सवबाट सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले दुनियाँमा अशान्ति मच्चिरहेका बेला नेपालको अगुवाइमा गौतमबुद्धले देखाएका अहिंसा, शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए । उनले लुम्बिनीमा बुद्धका विचारहरुका बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान विपश्यना गर्नेजस्ता कार्यक्रमका लागि उपयुक्त स्थानको व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराए ।
बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र महोत्सवमा प्रस्तुत गरिने जनाइएको छ । महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । महोत्समा ४० देशका प्रतिनिधि सहभागी छन् । महोत्वस लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएको हो ।