२०८२ बैशाख १४

लुम्बिनीमा अन्तर्राष्ट्रिय सेमिनार शुरु
  • लुम्बिनी खोज
  • २०८२ बैशाख १३, शनिबार १४:१७ गते

अरनिको, भृकुटी र फाहियानले जोडेको नेपाल–चीन सम्बन्ध मजबुद

लुम्बिनी १३ बैशाख ।
प्रागऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन् । अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध शसक्त बनेको उनीहरुले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा शनिबारदेखि शुरु भएको नेपाल–चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै विज्ञहरुले बुद्ध कला, दर्शन र संस्कृतिले आधुनिक समयमा नेपाल चीन सम्बन्धलाई अझ मजबुद बनाएको बताए ।
गोष्ठीको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, चिनियाँ संस्कृति प्रवद्र्धन समाज, लुम्बिनी विकास कोष र सारीपुत्र प्रतिष्ठानको संयुक्त आयोजनामा सेमिनार आयोजना गरिएको छ ।

‘लुम्बिनी केवल नेपालको गहना मात्र होइन, यो विश्व शान्ति र बौद्ध दर्शनको स्रोत हो, उनले भने–‘बुद्धले यही भूमि लुम्बिनीबाट विश्वलाई शान्ति, बन्धुत्व, अहिंसा, करुणा र समानताको सन्देश दिनुभएको हो ।’
चीनको आर्थिक विकासको प्रशंसा गर्दै मुख्यमन्त्री आचार्यले नेपालले चीनसँगको सहकार्यबाट आर्थिक उन्नति, व्यापार विस्तार र पूर्वाधार विकासमा ठूलो फाइदा लिन सक्ने बताए । विशेषगरी, लुम्बिनीलाई विश्व शान्ति र बौद्ध पर्यटनको केन्द्र बनाउन चिनियाँ लगानी र प्राविधिक सहयोग अत्यन्त उपयोगी हुने उनले उल्लेख गरे ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बुद्ध दर्शनले नेपाल र चीनबीच प्राज्ञिक सम्बन्धलाई जोड्दै गइरहेको बताए । उनले बौद्ध शिक्षाका उच्चतहको अध्ययनमा चीनका विश्वविद्यालय र नेपालका विश्वविद्यालयबीच सम्बन्ध सहकार्य बढ्दै गएको बताए ।
‘चिनियाँ विश्वविद्यालयसँगको प्राज्ञिक सम्बन्ध शसक्त रुपमा अघि बढिरहेको छ, यो सेमिनार त्यसैको एउटा निरन्तरता हो, उनले भने ।
सेमिनार केवल बौद्धिक विमर्शको मञ्च मात्र होइन, नेपाल र चीनबीचको मित्रता, सहकार्य र सांस्कृतिक एकताको उत्सव पनि रहेको उनले बताए ।
चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक प्राध्यापक क्वान वोइङले फाहियानको भ्रमणले नै बुद्धस्थल र ग्रन्थहरुको पहिचान गर्न सकेको बताउँदै लुम्बिनी र नेपालका लागि यो महत्वपूर्ण रहेको बताए । संस्कृति आदान प्रदानमा अरनिकोको योगदान चीनले भुल्न नसक्ने उनको भनाई थियो ।
चिनियाँ प्रोफेसर सोय युले चीन र नेपालबीचको सम्बन्ध परम्परादेखि नै रहेको बताए । ‘चीन नेपाल सम्बन्ध अहिलेको होइन, यो निकै मजबुद छ, उनले भने ।
चिनियाँ संस्कृति प्रवद्र्धन सोसाइटीका उपाध्यक्ष छङ गाङ्गले बौद्ध दर्शनको कला संस्कृतिको प्रवद्र्धनमा चीन र नेपालले संयुक्त रुपमा काम गर्नुपर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, सारिपुत्र फाउण्डेसन, चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीको सहकार्यमा सेमिनार आयोजना भएको हो ।
सेमिनारमा दुई दिनमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत भइरहेको न्यौपानेको भनाई छ ।