२०८२ जेष्ठ ४
बुटवल २ जेठ ।
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङलाई राजीनामा सनाखतका लागि उपस्थित हुन प्रदेश सभा सचिवालयले पत्र लेखेको छ। प्रदेश सांसद पदबाट राजीनामा दिएको उनको पत्र सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको थियो । पछि सो राजीनामा पत्र इमेल मार्फत संसद सचिवालयलाई पठाइएको थियो । राजीनामाको आधिकारिकताका लागि उनलाई पत्राचार गरिएको संसद सचिवालय जनाएको छ।
जनमत पार्टीकी प्रदेश सभा सदस्य गुरुङले पदबाट राजीनामा दिएको पत्र इमेलबाट संसद सचिवालयमा प्राप्त भएपछि सभामुख तुलाराम घर्ती मगरको निर्देशबमोजिम सनाखतका लागि पत्राचार गरिएको हो।
लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले संसद सचिवालयलाई उपलब्ध गराएको भन्दा फरक इमेल ठेगानाबाट इमेल आएको र राजीनामाको ब्यहोरा पनि स्पष्ट नभएकाले राजीनामा हो की होइन भन्ने सनाखत गर्न उपस्थित हुनका लागि सभामुखको निर्देशनबमोजिम पत्रचार गरिएको बताए।
गीता आवद्ध जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङ लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको र राजीनामाका बारेमा पार्टीमा जानकारी प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। ‘उहाँ संसदमा पनि निकै कम उपस्थित हुनेमा पर्नुहुन्छ, २५ प्रतिशत पनि उहाँको उपस्थिति छैन,’ उनले भने, ‘संसदीय दलको बैठकमा त उहाँ आउनु भएकै छैन।’
राजीनामाका बारेमा पार्टीमा कुनै जानकारी नभएको भन्दै गुप्ताले आवश्यक निर्णयका लागि पार्टी केन्द्रमा कुरा राखेको बताए। गुरुङ २ महिनादेखि बेलायतमा बस्दै आएको बताइएको छ।