२०८२ जेष्ठ १६
उपलब्धिलाई मिलेर संस्थागत गरौंः मुख्यमन्त्री आचार्य
बुटवल १५ जेठ ।
लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।
मुल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्रको उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको बताए ।
उनले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । उपलब्धिलाई मिलेर संस्थागत गर्नुपर्नेमा उनले जोड पनि दिए ।
संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताए ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए ।
पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताए ।
विपक्षी दल माओवादी केन्द्र का नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए ।