२०८२ भाद्र १८
बुटवल ३१ साउन ।
नवीन औद्योगिक कदरबहादुर रिता मावि देवीनगरमा विद्यालय व्यवस्थापन समितिको गठनको तयारी थालिएको छ । यसै क्रममा बुटवलमा क्रियाशील राजनीतिक दलहरूसँगको बैठक विद्यालयमा सम्पन्न भएको छ।
बुटवल उपमहानगरपालिकाको नगर शिक्षा ऐन २०७४ (पहिलो संशोधन २०७६) को दफा २१ को उपदफा (१) को खण्ड ( ख) बमोजिम विद्यालय व्यवस्थापन समिति गठनको लागि बैठक आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले बताए ।
उक्त बैठकमा नेपाली कांग्रेस नगर उपसभापति ज्योति भण्डारी ,नेकपा एमाले नगर सचिव दिननाथ भट्टराई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेन्द्र भुसाल,राष्ट्रिय स्वतन्त्र पार्टी बुटवलका सभापति राजेश्वर (राजन) पाण्डेय ,राष्ट्रिय जनमोर्चाका नगर सचिव गङ्गालाल सापकोटा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष निरज प्रताप खाड ,नेकपाका इन्चार्ज शरद ओली ,नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष चीनबहादुर गुरुङ ,जनता समाजवादी पार्टी नेपालका नगर सचिव तेजबहादुर राणा र बुटवल उपमहानगरपालिका शिक्षा अधिकृत कोपिला ज्ञवाली लगायतले धारणा राखेका थिए ।
बैठक बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको सञ्चालनमा सम्पन्न भएको थियो। बैठकले यही भाद्र ४ गते गठन गर्ने विद्यालय व्यवस्थापन समिति सर्वसहमतिमा गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।
विद्यालयले साउन २९ र ३० गते सबै विद्यार्थीहरू मार्फत समस्त अभिभावकहरुलाई पत्रचार गरिसकेको जनाएको छ । सबै अभिभावकहरुलाई अनिवार्य उपस्थितिको लागि विद्यालयले आग्रह समेत गरेको छ।