२०८२ भाद्र ३१
बुटवल १५ भदौ ।
नवीन विद्यार्थी क्लवको छैठौं पदस्थापन कार्यक्रम आइतवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले राजनीतिमा युवा प्रवेश गरेर राष्ट्र भित्रको निराश चिर्न आवश्यक रहेको बताए । नवीनमा अध्ययन गर्ने विद्यार्थीको भविष्य उज्वल रहेकोमा जोड दिदै उनले विद्यालयलाई प्रदेश सरकार र व्यक्तिगत रुपले पनि सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाकी अधिकृत कोपिला ज्ञवालीले क्लवले विद्यार्थीको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा सराहना व्यक्त गरिन् । समुदायमा युवाहरुले सवारी नियमको पालना नगर्ने, बढी गतिमा र आवाजमा चलाएर समाजमा विकृति सिर्जना गरेकोमा त्यसलाई नियन्त्रणमा राख्न युवा विद्यार्थीहरुलाई आग्रह पनि गरिन् ।
विद्यालयका प्रधानध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयको समग्र गतिविधिहरुको बारेमा प्रकाश पारेका थिए । छैठौं पदस्थापन कार्यक्रममा २०२४–२५ का अध्यक्ष सुवास पौडेलको नेतृत्वबाट २०२५–२६ का लागि लक्ष्मी पाण्डेयको अध्यक्षतामा नयाँ समिति पदस्थापन गरेको छ । पदस्थापन कार्यक्रममा २०८१ को एसइइ, २०८२ को एसएलसी परीक्षा र विद्यालय तहमा उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा नवीन विद्यार्थी क्लवका संस्थापक अध्यक्ष मधुसुदन नेपाल, निवर्तमान अध्यक्ष सुवास पौडेल, नवगठित क्लवका अध्यक्ष लक्ष्मी पाण्डेय, अंकित खनाल, विकास पन्थी लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सुवास पौडेलको अध्यक्षतामा एलिजा रेग्मी र समिक्षा जि.सी.को संचालनमा सम्पन्न भएको थियो ।