२०८२ भाद्र २७

बुटवलमा शान्ति र्‍याली
  • लुम्बिनी खोज
  • २०८२ भाद्र २७, शुक्रबार १२:५९ गते

बुटवल २७ भदौ ।
बुटवलमा आज शान्ति र्‍याली निकालिएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देही, पेशागत सञ्जाल (पापड) तथा सामाजिक संघसस्थाहरुको सहभागितामा र्‍याली निकालिएको हो । राष्ट्र र संविधान रक्षाका लागि शान्तिपूर्ण र्‍याली गरिएको आयोजकले जनाएका छन् । बुटवलको राजमार्ग चौराहाबाट शुरु गरिएको र्‍याली मिलनचोक, अस्पताललाइन हुदै ट्राफिक चोकमा पुगेर समापन गरिएको थियो । र्‍यालीमा सहभागिहरुले राष्ट्र र संविधानका पक्षमा लेखिएका प्लेकार्ड लिएका थिए ।

ट्राफिक चोकमा भएको कोणसभामा पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, रुपन्देही अध्यक्ष दिनेश पाण्डे, सचिव सिपी खनाल र उच्च अदालत बुटवल बार एसोसिएसनका अध्यक्ष गोविन्द मरासिनीले संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षमा धारणा राखेका थिए ।

निषेधाज्ञा र कफ्र्यु जारी
रुपन्देहीमा शुक्रवार पुनः निषेधाज्ञा र कफ्र्यु जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित प्रदर्शन, जुलुस हुलदंगा तथा झडपलाई दृष्टिगत गर्दै पुनः निषेधाज्ञा र कफ्र्यु आदेश जारी गरेको जनाएको छ । यहा आज बिहान ६ बजेबाट कफ्र्यु हटेको थियो ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थायी प्रशासन ऐन, २०२८ को दफा ६ र उपदफा (३ क ) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले भदौै २७ गतेदेखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका छन् । राति १० बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको छ । यस अवधिमा आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घरोउ जस्ता गतिविधि गर्न निषेध गरिएको छ ।
त्यस्तै, आज २७ गते बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई अनसन , धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ । आदेश उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ