२०८२ कार्तिक ३
रुपन्देही १ कात्तिक ।
राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका मुख्य सचेतक गोपाल भट्टराईले नेपालमा अन्य क्षेत्रसँगै धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भन्दैं त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । शुभयात्रा नेपाल संस्थाको रूपन्देही जिल्ला कार्यालयको मणिग्राममा उद्घाटन गर्दै उनले देशको माटोको पहिचान र आवश्यकतासँग जोडिएका कार्यक्रम दिगो हुनेसमेत बताए । साथै, शुभयात्रा नेपालका पञ्चसूत्रीय योजना नेपालीपनका पर्याय भएकाले सबैको सहयोग प्राप्त हुने उनको धारणा छ ।
शुभयात्रा नेपाल रूपन्देहीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले शुभयात्रा नेपालका अवधारणा तथा कार्यक्रम राम्रा लागेको बताए । परिकल्पना र परियोजना राम्रा हुँदा हुँदै आर्थिक पक्षलाई ध्यानमा राखी सानै स्वरूपमा कार्यक्रम सञ्चालन गर्न नगरपालिकाले सघाउने पनि उनले बताए ।
संस्थाका उपाध्यक्ष लक्ष्मी थापाको सञ्चालनमा भएको कार्यक्रममा बालगुरू वैष्णवानन्द ब्रह्मचारी महाराजले तपोभूमि नेपालको महिमा बमोजिमका गतिविधि सञ्चालन गरिनु आफैमा गर्वको विषय भएको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा शुभयात्रा नेपालका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले संस्थाका पञ्चसूत्रीय योजनाबारे उल्लेख गरे । सो अवसरमा अध्यक्ष गैह्रेले देवभूमि (गण्डकी, कर्णाली, कोशी) विकाश, सात प्रदेशमा एक–एक वटा गौ निकुञ्ज, क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्र, फोहरमुक्त नेपाल र पर्यटन क्षेत्रबारे भैरहेका प्रगतिका सम्बन्धमा जानकारी दिए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरसमितिका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले असल नेतृत्व विकासका लागि विद्यार्थीमाझ जाने कार्यक्रम, आँखा शिविर, क्यान्सर स्वास्थ्य शिविर जस्ता समसामयिक सेवाका क्षेत्रमा समेत शुभयात्रा नेपालले काम गर्दै आएको बताए ।