२०८१ श्रावण १२

रुपन्देही उद्योग संघद्वारा विद्युत प्राधिकारणलाई ज्ञापनपत्र
  • लुम्बिनी खोज
  • २०७९ बैशाख १४, बुधबार १७:४१ गते

विद्युत अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न आग्रह

बुटवल ।
रुपन्देही उद्योग संघले विगत केही दिनदेखि उद्योग क्षेत्रमा विद्युत आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न आग्रह गर्र्दै बुधवार नेपाल विद्युत प्राधिकारण वितरण तथा ग्राहक सेवा निर्देशानालय, लुम्बिनी प्रदेश कार्यालय बुटवलमा ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको संघका पदाधिकारी तथा लुम्बिनी कोरीडोर क्षेत्रका उद्योगीहरु सहितको प्रतिनिधि मण्डलले प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई.नवराज ओझालाई ज्ञापनपत्र बुझाउदै विशेष गरी लुम्बिनी कोरीडोर क्षेत्रमा रहेका उद्योग र जिल्ला भरिका उ्रद्योगहरुमा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न अनुरोध गरेको छ । पत्र बुझाउँदै अध्यक्ष पौडेलले प्राधिकरणले विना सुचना विद्युत आपूर्ति बन्द गर्ने र नियमित विद्युत नदिएका कारण उद्योगहरुले ठूलो क्षति व्यहोर्नु परिरेहको जनाउँदै विद्युत वितरणमा भैरहेको समस्यालाई तत्काल समाधान गर्न आग्रह गर्दै उद्योग धाराशाही बनाउने काम नगर्न सुझाव दिए । उनले विद्युत प्रधिकरणले समय तालिका बनाएर उद्योग क्षेत्रको विद्युत आपूर्ति नियमित गर्नुपर्ने माग राख्दै समस्या सामाधानमा छिटै कदम नचालिए संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । संघका निवर्तमान अध्यक्ष बाबुराम बोहोराले प्राधिकरणको नेतृत्वको असक्षमताका कारण पटकपटक उद्योगीहरुले पिडा भोग्नु परेको बताउँदै हाल विद्युत आपूर्तिमा देखिएको समस्या नियोजित भएको बताए ।
लुम्बिनी कोरीडोर स्थित जगदम्बा सिमेन्ट उद्योगका महाप्रवन्धक विदुर ढुङ्गानाले नेपाल विद्यूत प्राधिकारण सधै उद्योगलाई सताउने र धाराशाही बनाउने कुरामा उद्दत हँुदै आएको अनुभूति आफुहरुलाई भएको बताए । उनले विद्युत आपूर्तिको समस्या समाधान गर्न ढिलाई गरिए आफुहरु उद्योगमा ताला लगाएर सडकमा आउने चेतावनी दिए ।
ज्ञापन पत्र बुझ्नुहुँदै प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई.नवराज ओझाले विद्युतको उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएको बताउँदै समस्या समाधान गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले समय तालिका बनाएर विद्युत वितरण गर्न वा उद्योगमा विद्युत प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने आश्वासन दिए।
प्रतिनिधि मण्डलमा संघका वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव हरि बहादुर खत्री, कोषाध्यक्ष हिरामणी भट्टराई, महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली, कासस लाल प्रसाद वस्याल, अशोक कुँवर, संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी, उद्योगीहरु जगदम्बा स्पेनिङ्गका चिरञ्जिवी रायमाझी, वृज सिमेन्टका रबि रञ्जित गुप्ता, अम्बुजा सिमेन्टका राजकुमार गुप्ता, गोयनका स्टिलका अमित गोयनका लगायतको सहभागिता रहेको थियो ।