२०८२ पुष ३

असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण
  • लुम्बिनी खोज
  • २०८२ मंसिर १९, शुक्रबार १२:३६ गते

बुटवल १९ मंसिर ।
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ४ को छनौट कार्यक्रम सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउन गत कार्तिक २९ गते वडानम्बर १ बाट शुरू गरिएको प्रारम्भिक प्रशिक्षण सहितको छनौट कार्यक्रम अन्तरगत वडानम्बर–४ मा पनि गरिएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले जानकारी दिए ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले आफ्ना वडाका किशोर–किशोरीका राय बुझ्न पाइने कार्यक्रम सञ्चालन भएको भन्दै खुशी व्यक्त गरे ।
शुभयात्रा नेपाल डिंगरनगर समितिका संयोजक मीना पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताए । उनले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिए ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता अघि प्रशिक्षण समेत दिएका थिए । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक कुलबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै बुटवल पब्लिक स्कूलका दिया सुवेदी नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गरेकी छिन् । प्रतियोगितामा दोस्रो हुने डन मोडल एकेडेमीका सञ्जिला अधिकारी र तेस्रो हुने न्यू होराइजन गौतम बुद्ध मा.वि.का सामना क्षेत्री पुरस्कृत भएको निर्णायक साधना भण्डारीले जानकारी दिइन् ।
तिलोत्तमा ४ को दुर्गामन्दिर स्थित विष्णुपुर सामुदायिक हलमा पार्वता बेल्बासे र सुजाता भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा वडा सदस्य मित्रलाल न्यौपाने, वडा सचिव काशीराम ज्ञवाली, स्थानीय टोल विकास संस्थाका अध्यक्षहरूः ओमप्रकाश गौतम, रामबहादुर अर्याल, श्रीमाया सुनारी मगर, ताराप्रसाद बेल्बासे, बालमैत्री सहजकर्ता लक्ष्मी ज्ञवाली, बालमैत्री वडा संयोजक प्रिन्सा गौतम लगायतको उपस्थिति रहेको थियो ।
फागुन ७ गते अन्तिम प्रतियोगिता सञ्चालन गरिने असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ५ को छनौट कार्यक्रम (शनिबार) संस्थाको जिल्ला कार्यालयमा गरिने मणिग्राम समितिका संयोजक रत्ना रिजालले जानकारी दिए ।