२०८२ पुष ३

असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण जारी
  • लुम्बिनी खोज
  • २०८२ मंसिर २०, शनिबार १२:२५ गते

बुटवल २० मंसिर ।
शुभयात्रा नेपाल रूपन्देहीले आयोजना गरेको तिलोत्तमा नगरस्तरीय असल नेतृत्व वक्तृत्वकला प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ५ को छनौट कार्यक्रम आज (शनिबार) सम्पन्न भएको छ । नगरभित्र बसोबास गर्ने सत्र वटै वडाका मा.वि. तहका विद्यार्थीबीच “असल नेतृत्वमा आधारित” प्रतिस्पर्धा गराउने अभियान अन्तर्गत यो कार्यक्रम भएको जिल्ला अध्यक्ष मुक्तिनाथ गैह्रेले बताए ।
तालिम सहितको प्रतियोगिता उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडानम्बर ५ का कार्यवाहक वडाध्यक्ष हरि पन्थले आफ्ना वडाका समस्या र सम्भावनाबारे नयाँ पुस्ताको दृष्टिकोण बुझ्न पाउँदा खुशी लागेको बताए । शुभयात्रा नेपाल मणिग्राम समितिका संयोजक रत्ना रिजालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै संस्थाका केन्द्रीय अध्यक्ष मधुसुदन गैह्रेले पञ्चसूत्रीय योजना सँगै अन्य रचनात्मक क्रियाकलापमा संस्था गतिशील भएको बताए । उनले नेपालका ३ वटा देवभूमिक्षेत्र, ७ वटा गौ–चरण क्षेत्र, क्यान्सर अस्पताल, फोहरमुक्त नेपाल र पर्यटनका पञ्चसूत्रीय योजनामा शुभयात्रा नेपाल केन्द्रित भएको जानकारी दिए ।
कार्यक्रममा, संस्थाका जिल्ला अध्यक्ष एवम् विश्व वक्तृत्वकला प्रतियोगितामा सान्त्वना भएका जेसीजका अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले सहभागीलाई प्रतियोगिता प्रशिक्षण समेत दिएका थिए । त्यसैगरी, प्रतियोगिताको प्रस्तुतिपश्चात् मौखिक र लिखित रूपमा सबै सहभागीलाई सुझाव समेत दिइएको निर्णायक मण्डलका संयोजक कविता पन्थीले जानकारी दिइन् ।
प्रारम्भिक प्रशिक्षण एवम् छनौट प्रतियोगितामा पहिलो हुँदै कालिका मानवज्ञान मा.वि.का स्मृति खराल नगरस्तरीय अन्तिम प्रतियोगितामा प्रवेश गरेका छन् । प्रतियोगितामा दोस्रो हुने गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा.वि.का गणेश भट्टराई र तेस्रो हुने राममणि क्याम्पसका आदित्य गैरे पुरस्कृत भएको संस्थाका कार्यालय व्यवस्थापक खिमकुमारी बस्यालले जानकारी दिइन् ।
संस्थाको जिल्ला कार्यालय मणिग्राममा आयोजित कार्यक्रम बाल सहजकर्ता मीना पौड्याल भट्टराई, आजीवन सस्दयहरूः पुरूषोत्तम पाण्डे, राधा आचार्य उमा ढकाल, स्वरूपमा कोइरालालगायतको उपस्थिति एवम् जुना पुरीको सञ्चालन र किशोर पाठकको स्वागतमा सम्पन्न भएको थियो ।
फागुन ७ गते हुने अन्तिम प्रतियोगिताको छनौट चरण अन्तर्गत वडानम्बर ६ को कार्यक्रम मंसीर २७ गते शनिबार डन मोेडल एकेडेमीमा सञ्चालन गरिने आनन्दवन समितिका संयोजक तुल्सी पाण्डेले जानकारी दिए ।