२०८२ पुष २४
५८ जिल्लाका ५ हजार विद्यार्थी अध्ययनरत नवीनको स्वर्ण महोत्सव मूल समारोहमा शिक्षक विद्यार्थी सम्मानदेखि स्वर्ण महोत्सव स्तम्भको अनावरण, स्वर्ण महोत्सव दपर्ण विमोचनसहितका कार्यक्रम गरियो
बुटवल, २२ पुस ।
देशका केही अब्बल तथा उत्कृष्ट सामुदायिक विद्यालयहरु मध्येमा पर्ने नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवलले स्वर्ण महोत्सव मनाएको छ । वि.सं २०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी प्रवेशसँगै विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण महोत्सव मनाएको हो ।
मंगलबार आयोजना गरीएको मूल समारोहमा स्वर्ण महोत्सव स्तम्भ २०८२ को अनावरण, स्वर्ण महोत्सव दपर्ण विमोचनसहितका कार्यक्रम गरिएको थियो । त्यस्तै कार्यक्रममा राष्ट्रिय सेवा दल, स्काउट र अन्य विद्यार्थीहरुले मार्चपास, पिटि प्रदर्शन, विविध संस्कृती झल्कीने नृत्य, नाटक प्रस्तुत गरेका थिए । सोही अबसरमा एसइई, कक्षा १२ तथा अन्य कक्षामा उत्कृट नतिजा ल्याउन सफल बिद्यार्थीहरु, शिक्षक कर्मचारीहरुलाई सम्मान गरीएको थियो ।
अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको यस विद्यालयमा ५८ जिल्लाका ५ हजार भन्दा पनि बढी विद्यार्थी रहेका छन् । विद्यार्थी संख्याको आधारमा देशकै पाँचौँ नम्बरमा रहेको यस विद्यालयले उत्कृष्ट नतिजासहित विभिन्न अवार्ड र पुरस्कार प्राप्त गरिसकेको छ । यस विद्यालयमा १८४ जना शिक्षक कर्मचारी रहेका छन् ।
मुल समारोहको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खेलकुद र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको बताए । बुटवलका नवीनसहितका केही विद्यालयहरुले गरेको मिहिनेतले शैक्षिक क्षेत्रमा बुटवलको चर्चा राष्ट्रिय स्तरमा हुने गरेको बताए । ५ हजार भन्दा पनि धेरै विद्यार्थीहरुलाई एउटै विद्यालयमा भर्ना गरी दिइएको गुणस्तरीय शिक्षाका कारण यहा देशका विभिन्न स्थानबाट अवलोकन गर्नेहरुको संख्या बढ्दै गएको चर्चा गर्दै उनले शैक्षिक पर्यटनको विकासले बुटवलमा सकरात्मक प्रभाव पारेको बताए ।
शैक्षिक क्षेत्रमा नवीन औद्योगिक माविको भुमिका महत्वपूर्ण रहेको बताउँदै उनले देशका ५८ जिल्लाका विद्यार्थीहरु अध्ययन गर्ने अब्बल सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सकेकोमा उच्च प्रशंशा समेत गर्दै बधाई ज्ञापन गरे । सोही अबसरमा उनले स्वर्ण महोत्सव दर्पण विमोचन तथा स्वर्ण महोत्सव स्तम्भ–२०८२ अनावरण समेत गरेका थिए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्यालले सामुदायिक विद्यालयले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नतिजाका साथ देशकै नमुना विद्यालय बन्न सक्छन् भन्ने गर्विलो उदाहरण नवीन औद्योगिक माविले प्रस्तुत गरेको धारणा राखिन् । बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयले शिक्षाको गुणस्तरमा ब्यापक सुधार गर्दै हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदा नवीनमा धेरै विद्यार्थी र अभिभावकको दृढ विश्वास बढ्दै गएको धारणा राखे ।
विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी, शिक्षक र अभिभावक सबैको लगनशिलता र मिहेनतका कारण विद्यालयले यो सफलता पाएको बताए । अध्ययन सँगसँगै खेलकुद र विद्यार्थीको नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा समेत विद्यालयले जोड दिँदै आएको प्रधानाध्यापक बस्नेतले बताए ।
बस्नेतका अनुसार कक्षा ११÷१२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटल म्यानेजमेन्ट, कानुन र शिक्षा समूह अध्यापन हुँदै आएको विद्यालयले डिजिटल माध्यमलाई प्राथकिकता दिएको छ । विद्यालयका ४१ जना शिक्षकले नेपाल सरकारको स्रोतबाट र १ सय ४३ जनाले विद्यालयको स्रोतबाट पारिश्रमिक पाउदै आएका छन् ।
विद्यालयमा राष्ट्रिय सेवा दलअन्तर्गत सिनियर डिभिजन २०औँ क्याडेट सञ्चालनमा रहेको छ, जसमा १५ छात्र र १५ छात्रा सहभागी छन् । शैक्षिक असल अभ्यासतर्फ आ.व. २०८१÷०८२ मा सातै प्रदेशका ४२ विद्यालयमध्ये नेपाल द्वितीय स्थान हासिल गर्दै विद्यालयले अस्ट्रेलियाको राजधानी क्यानबेरामा २३ अक्टोबर २०२४ मा ‘बेष्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरेको छ । यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले एसइई, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन पनि सफल भएका छन् । त्यस्तै केही विद्यार्थीले एमबीबिएस र इन्जिनियरमासमेत पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल भएका छन् ।
विद्यालयले विद्यार्थीको नेतृत्व विकास र व्यक्तित्व निर्माणमा विशेष जोड दिँदै आएको जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार विद्यार्थीबाट उद्घोषण, फिल्ड भिजिट तथा प्रयोगात्मक अभ्यासका अनुभव अंग्रेजी भाषामा प्रस्तुत गराउने लगायतका अभ्यास गरिएको बस्नेतले बताए ।
कार्यक्रममा सामाजिक डिभिजन कार्यालय रुपन्देहीका प्रमुख हरिबहादुर बिष्ट, , नेकपा एमाले बुटवलका अध्यक्ष शोभाखर पोखरेल, नेपाली कम्युनिस्ट पार्टिका कार्यदल सदस्य तथा विद्यालयका अभिभावक महेन्द्र भुसाल, स्थानिय शिक्षाप्रेमी पूर्व जिल्ला शिक्षा अधिकारी भोजवहादुर केसी, नेपाल शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने विद्यालयका सहायक प्रधानाध्यापक रोमनाथ घिमिरे, कानुन समुह इन्चार्ज लोकप्रसाद खरेललगायतले विद्यालयले शिक्षा क्षेत्रमा खेलेको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
पत्रकार सम्मानित
नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवलले स्वर्ण महोत्सवका अवसरमा ८ जना पत्रकारहरुलाई सम्मान गरेको छ । स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ मूल समारोहमा विद्यालयले उनीहरुलाई सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, शिक्षाविद आनन्दमान सिंह शाक्यलगायतले सम्मानपत्रसहित सम्मान तथा नगदसहितपुरस्कृत गरेका थिए ।
विद्यालयका हरेक गतिविधिलाई प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण महोत्सवका अवसरमा पुरस्कृत गरीएको विद्यालयले जनाएको छ । पुरस्कृत हुने पत्रकारहरुमा नया पत्रिकाका विष्णु घिमिरे, राज्य टेलिभिजनका यमलाल भुसाल, मेचीकाली राष्ट्रिय दैनिकका रमेश पराजुली, लुम्बिनी दैनिकका प्रदिप आचार्य, बुटवल टुडेका माया केसी, दैनिक पत्रका कृष्ण रणपाल, बुद्ध टेलिभिजनका कल्पना डुम्रे र लुम्बिनी टेलिभिजनका नगेन्द्र कार्की रहेका छन् ।












