२०८२ माघ ९
बुटवल ८ माघ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नयाँ शैक्षिक सत्रमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि अभिमुखीकरण गरिएको हो ।
बुटवल नयाँगाउँस्थित सिटी क्याम्पसमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बीएएलएलबी, बिटिटिएम, बिएचटिएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागतसहित शैक्षिक कार्यक्रमका विषयमा जानकारी गराइएको छ । कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा हरिशरण चखुँले विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीहरुले अधिवत्ता परीक्षामा उत्कृष्ट नतिजा ल्याएर विश्वविद्यालयको गरिमा बढाएको बताए । उनले नयाँ भर्ना भएका कानून विषयसहित विषयमा अध्ययनरत विद्यार्थीहरुले पनि उत्कृष्ट नतिजालाई कायमै राख्ने बताए ।
कार्यक्रममा बोल्दै कानून विषय समितिका अध्यक्ष बरिष्ट अधिवक्ता तेजप्रसाद कंडेलले कानून विषय गहन विषय भएको र तह उत्तीर्णलाई मात्रै उपलब्धी मान्न नसकिने अवस्था रहेको बताए । उनले अध्ययन गरेर व्यवसायमा जाने अवस्थाका चुनौतिलाई सामना गर्नेगरी अध्ययनलाई निरन्तरता दिन आग्रह गरे ।
स्कुल अफ लका निर्देशक बद्रि प्रसाद शर्मा गौतमले स्कुल अफ ल मुलुकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भइसकेको बताए । बौद्ध दर्शनमा आधारित कानून विषय विश्वमै पहिलो रहेकाले यहाँका उत्पादित जनशक्तिमा सोही नैतिकता कायम हुने उनले बताए ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका सदस्य डीआर घिमिरे, क्याम्पसका पूर्व प्रमुख डा फणीन्द्र कुमार न्यौपाने, सिटी क्याम्पसका निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारी, एकेडेमिक क्रेडिट बैंकका संयोजक बलबहादुर पाण्डेले बोल्दै क्याम्पसका सबै कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै आगामी दिनमा समेत निरन्तरता हुने शुभकामना दिए ।
कार्यक्रममा व्यवस्थापन विभागका प्रमुख डा श्रीप्रसाद भट्टराईले व्यवस्थापन विषयका शैक्षिक कार्यक्रमका विषयमा, उपप्राध्यापक गोपाल उपाध्यायले कानून विषयमा अभिमुखीकरण गरेका थिए ।
विश्वविद्यालयका एप्लाईड बौद्ध अध्ययन कार्यक्रमका संयोजक जेबी क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विबिध सांस्कृतिक कार्यक्रम प्रस्तत गरेका थिए ।

