२०८२ माघ ११
बुटवल ११ माघ ।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट ९, एमालेबाट ८ र लोसपाबाट १ जना निर्वाचित भएका छन्।
कोशी प्रदेशबाट एमालेका सोमनाथ पोर्तेल र रोशनी मेचे तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित भएका छन्। मधेश प्रदेशबाट कांग्रेसका धर्मेन्द्र पासवान र रञ्जित कर्ण, एमालेकी रेखाकुमारी झा अनि लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुर निर्वाचित भएका छन्। हालै भएको पार्टी एकता सम्झौतापछि ठाकुर अहिले जनता समाजवादी पार्टी नेपालका नेता भएका छन्। बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित भएका छन्।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव घिमिरे ुजंगलीु र चन्द्रबहादुर केसी तथा एमालेकी रामकुमारी झाँक्री निर्वाचित भएका छन्।
कर्णाली प्रदेशबाट कांग्रेसका ललितजङ्ग शाही र एमालेकी मिनासिंह रखाल अनि सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्बबहादुर खाती तथा एमालेकी लीलाकुमारी भण्डारी निर्वाचित भएका छन्।
आगामी फागुन २० गतेबाट रिक्त हुन लागेका १९ मध्ये १८ जना राष्ट्रिय सभा सदस्यमा आज मतदान भएको थियो। बाँकी एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। यो निर्वाचनमा प्रदेश सभाका सदस्य, नगर प्रमुख तथा उपप्रमुख र उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष गरी कुल १,९२४ जनाले मतदान गरेका थिए।