२०८२ माघ १३
बुटवल १३ माघ ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन सुरु भएको २ महिनापछि बसेको दोस्रो बैठकमा दुई विधेयक पेस भएको छ । मंगलबार दिउँसो बसेको बैठकमा दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र देश जीवनासक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भएको हो ।
दलित समुदायको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारका तर्फबाट प्रदेश सभामा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पेस गरेका हुन्। त्यस्तै स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेश जीवनासक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरे ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता आएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि छलफलका लागि पुनः पेस भएको छ। सरकारका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले उक्त विधेयक पेस गरेका हुन् ।
सभामुख तुलाराम घर्ती मगरले विधेयकमाथि सैद्धान्तिक प्रस्तावका लागि निर्णयार्थ प्रस्तुत गरे । ध्वनिमतका आधारमा विधेयकमाथिको सैद्धान्तिक छलफलको प्रस्ताव पारित भएपछि प्रदेश सभा सदस्य तुलसीराम शर्माले विधेयकमा सुझाव दिएका थिए ।
मन्त्री ढकालले प्रदेशका विभिन्न क्षेत्रहरुको अनुसन्धान गरेर त्यसका सम्भावना बुझ्ने र कानुन बनाएर कार्यान्वयन गर्ने गरी विधेयक ल्याइएको जवाफ दिए। सरकारका तर्फबाट त्यसलाई केही परिमार्जन गर्नुपर्ने देखिएकाले सुझावसहित फिर्ता आएको र त्यसमा सरकारले विचार गरी सैद्धान्तिक छलफलमा पेश गरिएको जवाफपछि विधेयकमाथिको संशोधनका लागि ७२ घण्टाको समय उपलब्ध गराइएको सभामा जानकारी गराइएको थियो ।
बैठकमा सभामुख घर्तीले दाङ ३ (२)बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित नेकपाका धनबहादुर मास्की, बाँके १ (१)बाट निर्वाचित कृष्णा केसी, बर्दिया २ (२)बाट निर्वाचित नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र रूपन्देही ४ (१)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बाँनियाले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको र उक्त चार पद रिक्त रहेको जानकारी गराए। चारैजना प्रदेश सभा छोडेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । चार पद रिक्त भएपछि ८७ सदस्यीय प्रदेश सभा अहिले ८३ सदस्यीय बनेको छ ।
मास्की दाङ–३, चौधरी बर्दिया, केसी बाँके २ तथा बनियारुपन्देही–४ बाट उम्मेदवार बनेका छन् । बैठकको विशेष समयमा जनमत पार्टीका चन्द्रकेश गुप्ता, राप्रपाकी मिनाकुमारी श्रेष्ठ, कांग्रेसकी लोकीकुमारी विक र नेकपा एमालेका विष्णुप्रसाद पन्थीले विभिन्न विषय उठाएका थिए । प्रदेश सभाको सातौं अधिवेशनको तेस्रो बैठक बुधबार बस्नेछ ।