२०८२ माघ २०
बुटवल २० माघ ।
राजनीतिक निर्णय प्रक्रियामा युवा र महिलाको अर्थपूर्ण सहभागितामा लुम्बिनी प्रदेशका युवाहरूले चासो दिएका छन् । प्रदेशका ११ जिल्लाका युवाहरूको बुटवलमा भएको भेलामा उनीहरूले शासन व्यवस्था, राजनीतिक विकृति र सामाजिक अन्यायका विरुद्ध निरन्तर प्रश्न उठाउने र खबरदारी गर्ने सस्कृतिलाई आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजनीतिक निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागितामा जोड दिएका हुन् ।
विभिन्न जिल्लाबाट ९० जना युवा सहभागी कार्यक्रममा युवाको भूमिका, अवसर र चुनौतीबारे छलफल गरेर घोषणापत्रसमेत जारी गरेका छन् । दलहरूले विधान र संरचनालाई लोकतान्त्रिक र समावेशी बनाउँदै नेतृत्व तहमा युवा र महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरी नेतृत्व पुस्तान्तरणको पद्धतिलाई अनिवार्य रूपमा संस्थागत गर्न उनीहरूले माग गरेका छन् ।
महिला र युवालाई उम्मेदवार बन्ने समान अवसर प्रदान गर्दै टिकट वितरणमा प्रथामिकता दिने नीतिगत व्यवस्था गर्नसमेत उनीहरूले माग गरेका छन्। निर्वाचन घोषणापत्रहरूमा युवा र महिलाका विशिष्ट आवश्यकता, मुद्दा र प्राथमिकताहरूलाई स्पष्ट रूपमा सम्बोधन र समावेश गर्न पनि उनीहरूले माग गरेका छन् ।
त्यस्तै दलित, सीमान्तकृत, अपांगता भएका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका महिला एवं युवाको राजनीतिक अधिकार र पहुच सुनिश्चित गर्न राज्य र दलहरूले विशिष्ट कानुनी वा संरचनागत संयन्त्र निर्माणको व्यवस्था गर्न पनि माग गरेका छन् ।
उनीहरूले जारी गरेको घोषणापत्रमा राजनीतिलाई मात्र परिवर्तनको माध्यम नबनाई युवा उद्यमशीलता र आर्थिक सशक्तीकरणमार्फत आत्मनिर्भर समाज निर्माणमा योगदान दिने प्रतिबद्धतासमेत जनाएका छन् । त्यस्तै, अल्पसंख्यक र सीमान्तकृत समुदायप्रति समाजमा रहेको नकारात्मक र विभेदकारी दृष्टिकोणलाई आफ्नै व्यवहारबाट परिवर्तन गर्ने र समावेशी समाजको मूल्य–मान्यतालाई व्यवहारमा उतार्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् । स्थानीय तहदेखि संघीय तहसम्मका नीतिहरू युवामैत्री, लैंगिकमैत्री, अपांगमैत्री बनाउन निरन्तर दबाब दिने र सरोकारवालाहरूसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
कार्यक्रम संयोजक सावित्री विकले युवाहरूले आफूहरूले अनुभव गरेका विषयदेखि अवसरबारे गहन छलफल गरेको बताइन् । लोकतन्त्र, महिला अधिकार र युवा सहभागिताका लागि युवा अभियान, प्रदेशस्तरीय युवा मञ्चले गरेको कार्यक्रममा दलका घोषणा पत्रमा युवा तथा महिलाका मुद्दा समेट्न मद्दत मिल्ने गरी छलफल गरिएको थियो ।
