२०८२ फाल्गुन ९

प्रधानमन्त्री कार्कीद्धारा लुम्बिनी भ्रमण
  • लुम्बिनी खोज
  • २०८२ फाल्गुन ९, शनिबार ११:३२ गते

लुम्बिनी ९ फागुन ।
प्रधानमन्त्री शुसीला कार्कीले शान्तिका अग्रदुत गौतम वुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छिन् । विश्व शान्तिको प्रतीक बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्कीले लुम्बिनी भ्रमण गरेकी हुन् ।
लुम्बिनी आगमनका क्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठले प्रधानमन्त्री कार्कीलाई औपचारिक रूपमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, विश्व पौडेललगायत कोषका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मायादेवी मन्दिरमा दर्शन गरिन् । उनले बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्वबारे जानकारी लिँदै संरक्षणका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्। त्यसैगरी प्रधानमन्त्रीले थाइविहारलगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार तथा संरचनाहरूको पनि अवलोकन गरिन् ।
प्रधानमन्त्री कार्कीले लुम्बिनी केवल नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताइन् । लुम्बिनी विकास कोषका कार्यकारी सदस्य श्याम रोक्काका अनुसार लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन् ।
लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीहरूबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीले ती विषयमा चासो व्यक्त गर्दै आवश्यक नीतिगत तथा संरचनागत सहयोग सरकारबाट उपलब्ध गराइने आश्वासन दिएको रोक्काले बताए ।
प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको रोक्काको भनाइ छ ।