२०८२ फाल्गुन १२
बुटवल ११ फागुन ।
प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । मतदातामाझ आफ्ना योजना राख्ने र मत माग्नका लागि प्रायः उम्मेद्वारहरु घरदैलोमा हिडिरहेका छन् । यसैक्रममा रुपन्देही क्षेत्र नं. २ मा काँग्रेस उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेल आफूले अगाडि सारेका विकासका योजना सहित घरदैलोमा ब्यस्त छन् ।
घरदैलो अभियानको सातौं दिन सोमबार बुटवल उपमहानगरपालिका वडा नं ३ गोलपार्क र तिलोत्तमा नगरपालिका वडा नं ३ मा आयोजित घरदैलोमा सयौं नेता कार्यकर्ताको सहभागीता भएपछि उम्मेदवार सहित काँग्रेस नेता कार्यकर्ता उत्साहित देखिएका छन् । उम्मेद्वार शर्माले घरदैलोका क्रममा बुटवल, तिलोत्तमा र सैनामैनाका मतदाता तथा पार्टीका नेता कार्यकर्ताको सहभागीताले आफुलाई थप उत्साहित बनाएको बताए ।
पहिलो पटक चुनावी मैदानमा आएका उद्योगपति शर्मासंग यस क्षेत्रका मतदाता मात्रै नभएर आम नागरिक उत्साहित रहेको कांग्रेसले जनाएको छ । उम्मेद्वार शर्माले बुटवललाई आर्थिक केन्द्रसहित आईटी हवको रुपमा विकास गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा विकास गर्ने र आम्दा अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्ने योजना बुनेका छन् । त्यसैगरी तिलोत्तमा, सैनामैलाई आधुनिक सहरको रुपमा विकास गर्ने, मोतिपुर सहितका ग्रामिण क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने उनको योजना छ । त्यसैगरी आर्थिक तथा औद्योगिक विकास सहित शिक्षा र स्वास्थ्यमा पनि उनले विशेष प्राथमिकतामा राखेका छन् ।
उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा तथा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, खानेपानी, सिंचाइ र डुबान समस्या समाधानमा जोड, कृषि, उद्योग र रोजगारीमा जोड दिँदै एक घर १ रोजगारी अभियान, पूर्वाधार विकास, पर्यटन र सम्पदा संरक्षण अन्तरगत पुरानो बटौलीलाई ‘हेरिटेज जोन’ घोषणा गर्ने योजना, सामाजिक सुरक्षा र समावेशीतामा प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपाली काँग्रेस रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति तथा निर्वाचन परिचालन मूल समिति संयोजक प्रजापाल गिरीले पनि घरदैलोका क्रममा पार्टीका नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता र मतदाताले देखाएको सद्भावले उम्मेदवारसहित सिंगो पार्टी पंक्ति उत्साहित भएको बताए ।
सोमबार बुटवल उपमहानगरपालिका वडा नं ३ को गोलपार्क, चिडियाखोला लगायतका ठाउँ र तिलोत्तमा–३ मा भएको घरदैलोमा उम्मेदवार चुन्न शर्मा पौडेल, समानुपातिक उम्मेदवार रीता सेन वलीलगायत पार्टीका नेता कार्यकर्ता टोल–टोल र घरदैलोमा पुगेर मत मागेका थिए ।
बुटवल ९ मा विभिन्न पार्टी परित्याग गरी दर्जनबढी युवा काँग्रेसमा प्रवेश
बुटवल उपमहानगरपालिका वडा नं. ९ का दर्जनबढी युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बदललिएको नेपाली काँग्रेसमा केही आशा र भविश्य समेत देखेर आफूहरु तरुणदल मार्फत नेपाली काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताए । आसन्न प्रतिनीधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेललाई विजयी गराउने अभियान सहित नेपाली काँग्रेसमा प्रवेश गरेको पनि उनीहरुको भनाई छ ।
नेपाल तरुण दल वडा समितिको आयोजनामा भएको कार्यक्रममा नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेता जनक कोईरालाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । नेपाल तरुण दल वडा समितिका सभापति शिव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तरुण दलका पूर्व केन्द्रीय सचिव चिरञ्जिवी जोशी, नेता जनक कोईराला, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य ईञ्जिनीयर कुशुमराज ज्ञवाली, तरुण दल बुटवल नगर सभापति सुजन पुन, नेपाली काँग्रेस बुटवल ९ का सभापति प्रदिप श्रेष्ठ, आशिष भण्डारीलगायतले नेपाली काँग्रेसमा युवाहरुको आकर्षणले रुपन्देही २ सहित देशभर काँग्रेसको पक्षमा माहोल राम्रो बनाएको बताएका थिए ।


