२०८२ फाल्गुन २९
रुपन्देही २९ फागुन ।
राममणि बहुमुखी क्याम्पस तिलोत्तमा–५, मणिग्रामको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज (शुक्रबार) सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले राममणिका कारण यो क्षेत्रको विकासमा योगदान पुगेको बताए । उनले नगरको प्रतिष्ठाको रूपमा रहेको राममणिसँग नगरपालिकाले थप सहकार्य गर्ने पनि बताए । कार्यक्रममा, क्याम्पसले वार्षिक रूपमा प्रकाशन गर्नेः विद्यार्थी, प्राध्यापकका लेख रचना र आयव्यय सहितको मुखपत्र “दीपिका”को एक्काइसौं अङ्क विमोचन गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा क्याम्पसको नतीजा अभिवृद्धिमा उल्लेखनिय कार्य गर्ने प्राध्यापकहरू, कर्मचारी लगायतलाई दोसल्ला, सम्मान पत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो ।
त्यसैगरी, वर्षभरिका शैक्षिक तथा अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । साथै, वार्षिकोत्सवका अवसरमा सञ्चालित खेलउत्सवका उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र र पदकसहित पुरस्कृत गरिएको थियो ।
वार्षिकोत्सवमा बोल्दै सञ्चालक समिति अध्यक्ष धु्रवकुमार धिताल र उपाध्यक्ष कृष्णप्रसाद पौडेलले अत्यधुनिक पुस्तकालय निर्माणको काम अगाडि बढिसकेको भन्दै थप प्राविधिक कार्यक्रम सञ्चालनको समेत पहल भैरहेको जानकारी दिए ।
क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक संस्था राममणिका आफ्नै प्रकारका जटिलता र सम्भावना रहेको उल्लेख गरे ।
क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा र प्राध्यापक संघका सभापति राजेन्द्र थापाले क्याम्पसको थप स्तरोन्नतिका लागि सहकर्मी प्राध्यापक तथा कर्मचारीको सहयोग रहिरहने उल्लेख गरे ।
कार्यक्रममा क्याम्पस सभा सदस्य सुरेन्द्रकुमार वर्मा, शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने लगायतले क्याम्पसका बारेमा चर्चा गरेका थिए ।
वार्षिकोत्सवकै अवसरमा विद्यार्थीले सञ्चालन गरेको प्राविधिक परियोजना प्रदर्शनीकोः अतिथि तथा अभिभावक र अन्य विद्यार्थीले अवलोकन गरेका थिए । सो अवसरमा दर्जनौं विद्यार्थीले कविता, गीत, गजल, नाटक, नृत्य आदि प्रस्तुत गरेका थिए ।






