२०८३ बैशाख १४
बुटवल १४ बैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन । तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोटस्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको अनुगमनका क्रममा उनले आवश्यक पूर्वाधार विकास, संरक्षणका वैज्ञानिक उपाय तथा प्रचारप्रसारमार्फत दंगीशरण दरबार क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा विकास गरिने विश्वास व्यक्त गरे । ‘पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर काम गरिरहेको छ,’उनले भने, ‘हामी पुरातात्विक सम्पदामा धनी पनि छौं । यी सम्पदाहरुलाई जोगाएर भावी पुस्तासम्म हस्तान्तरण गर्नु हाम्रो दायित्व हो ।’ मुख्यमन्त्री आचार्यले प्रदेश सरकार पुरातात्विक सम्पदाको संरक्षणसँगै त्यसको प्रवद्र्धन र पर्यटनसँग जोड्ने योजनामा अघि बढेको उल्लेख पनि गरे ।
अनुगमनमा मुख्यमन्त्री आचार्यसहित पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्रीहरु भूमिश्वर ढकाल र प्रचण्ड विक्रम न्यौपाने, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालगायतको सहभागिता रहेको थियो । टोलीले दरबार क्षेत्रको वर्तमान अवस्था, उत्खननको प्रगति तथा संरक्षणका आवश्यक पक्षबारे स्थलगत जानकारी लिएको थियो ।
स्थानीय सरोकारवालाहरुले यस क्षेत्रलाई ऐतिहासिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।