२०८३ असार २२
बुटवल, २१ असार।
विद्यालय शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरणसम्बन्धी छलफल तथा पृष्ठपोषण कार्यशाला बुटवलमा सम्पन्न भएको छ ।
आइतबार बुटवलस्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सम्पन्न कार्यशालामा रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक जयराम अधिकारीले विद्यालयमा भइरहेका अभ्यास, अनुभव र सिकाइ आदानप्रदान, विद्यालय शिक्षाको गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरणसम्बन्धी साझा अवधारणा विकास तथा यस प्रक्रियामा सरोकारवालाको भूमिका र जिम्मेवारीबारे सहजीकरण गरेका थिए।
नेपाल सरकारका पूर्वसचिव डाक्टर हरिप्रसाद लम्सालले ‘नेपालमा विद्यालय गुणस्तर प्रत्यायनः विश्व अभ्यास, वर्तमान अवस्था र भावी बाटो’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रकी निर्देशक प्रमिला बखती, शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका प्रमुख प्रेमराज खरेल, कालिका मानव ज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापा, सिद्धबाबा माध्यमिक विद्यालय गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीस, रामतुलसी माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक बालकृष्ण लम्साल, जनता कृष्ण माध्यमिक विद्यालय अर्घाखाँचीका प्रधानाध्यापक जनक बस्याल, रुपन्देही लिलाराम माध्यमिक विद्यालय रुपन्देहीका प्रधानाध्यापक रूपकुमार रायमाझी तथा बाणगंगा माध्यमिक विद्यालय कपिलवस्तुका प्रधानाध्यापक रामप्रसाद भण्डारीलगायतले आ–आफ्ना धारणा राखेका थिए।
प्रस्तुत कार्यपत्रमाथि समूहगत रुपमा नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवाली, दमकडा माध्यमिक विद्यालय पाल्पाका प्रधानाध्यापक मोहन सापकोटा, पर्रोहा परमेश्वरधाम माध्यमिक विद्यालय सैनामैनाका प्रधानाध्यापक नेत्रलाल पुरी, दरेठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, गङ्गा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक देवराज देवकोटा, महेन्द्र माध्यमिक विद्यालय तम्घासका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी तथा जनबोध माध्यमिक विद्यालय गुल्मीका प्रधानाध्यापक बामदेव ज्ञवालीलगायतले सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी, कपिलवस्तुका प्रमुख माधव बन्जाडे, गुल्मीका प्रमुख मित्र गौतम तथा अर्घाखाँचीका प्रमुख विष्णु बेलबासेलगायतको सहभागिता रहेको थियो।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रकी शाखा अधिकृत मुक्ता पोखरेलले सञ्चालन गरेको कार्यक्रममा रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
