२०८१ पुष ११
बुटबल ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्न आग्रह गरेका छन । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गठबन्धनभित्र कुनै पनि शंका–उपशंका वा बहाना नचल्ने उनले बताए । सत्ता गठबन्धन दलले रुपन्देहीमा शुक्रबार आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउनु पर्ने उल्लेख गरे । ‘आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ ।’–देउवाले भने, प्रचण्डजीलाई पनि विश्वास दिलाउनु छ । शंका उपशंका नगरौं । उनले कार्यकर्तालाई बोली तथा व्यवहारमा तिक्तता आउने काम नगर्न निर्देशन दिए । गठबन्धनमा सबैको जित भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए ।
गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने बताउँदै उनले एक–आपसमा शंका र बेइमानी गर्दा ठूलो नोक्सानी व्यहोर्नुपर्ने भन्दै सचेत गराए ।