२०८१ श्रावण १२

माछा खानुको फाइदा
  • लुम्बिनी खोज
  • २०७७ चैत्र २, सोमबार ०८:२२ गते

हाम्रो भान्सामा दैनिकजसो मासुजन्य पदार्थ प्रयोग भइरहेको हुन्छ । मानिसको रुचिअनुसार कोही धेरै मासुसँग खान मन पराउँछन् भने कसैलाई एक वा दुई पिस मासु भए पुग्छ । मासुको परिकारमध्ये शरीरका लागि माछा धेरै फाइदानजक रहेको एक अनुसन्धानले देखाएको छ । माछामा धेरै भिटामिन हुन्छ । यसमा ओमेगा ३, फ्याटी एसिड, भिटामिन डी, भिटामिन बी १२, क्याल्सियम, आइरन र आयोडिनलगायतका तत्व पाइन्छ ।

अध्ययनअनुसार माछा नखाने व्यक्तिलाई मुटु रोग र स्ट्रोकलगायतका स्वास्थ्य समस्याको जोखिम बढी हुन्छ । साता वा दिनमा मात्रा मिलाएर माछा खाँदा मुटु तथा स्ट्रोकको जोखिम कम हुने अध्ययनको निष्कर्ष छ । क्यानडास्थित म्याकमास्टर विश्वविद्यालयले चार चरणमा गरेको अनुसन्धनात्मक रिपोर्टमा माछामा रहेको विभिन्न गुणले हार्ट–एट्याक् र स्ट्रोकलाई नियन्त्रण गर्ने उल्लेख छ ।

विश्वविद्यालयले ५८ देशका एक लाख ९१ व्यक्तिबीच उनीहरूको खानामा माछाको प्रयोग कति हुन्छ भनी प्रश्न गरेको थियो । यसक्रममा दैनिक माछा नलिने व्यक्तिमा मुटु र स्ट्रोकको जोखिम बढी देखिएको थियो । अनुसन्धान टोलीका प्रमुख एन्ड्यु म्यान्टका अनुसार मुटु र स्ट्रोक रोगीलाई माछा खान सुझाब दिएका छन् । ‘मुटुरोगीले दैनिक माछा खाँदा राम्रो हुन्छ, यस्ता बिरामीलाई माछा सेवनबाट थप जोखिम हुँदैन,’ अनुसन्धानकर्ता एन्ड्युले भने ।

अनुसन्धानमा संलग्नमध्ये एकचौथाई समूह मुटुरोगी भएको उनले बताए । ‘माछा खाने र नखाने दुवै समूहमा विभिन्न रोग पायौँ, त्यसमध्ये ५१ हजारजनामा मुटु रोग देखियो,’ एन्ड्यु भन्छन्, ‘उनीहरूले महिनामा एकपटक मात्र माछा खाने गरेको पाएँ ।’ दैनिक माछा खानेहरूमध्ये १६ प्रतिसतमा मुटु र स्ट्रोक रोग नभएको उनको भनाइ छ ।‘जसले नियमित रूपमा बिहान र बेलुकाको खानामा माछा प्रयोग गरेका थिए ती व्यक्तिमध्ये १८ प्रतिशतमा हार्ट–एट्याक् देखिएन,’ अनुसन्धानकर्ता एन्ड्युले भने । यसैगरी, तेलमा राम्रोसँग भुटेको माछा स्वास्थ्यका निमित्त राम्रो भएको उनले बताए । अनुसन्धानकर्ता एन्ड्युले सातामा दुईपटक माछा सेवन गर्नुपर्ने सुझाब दिएका छन् । यस्तो नगर्ने व्यक्तिको शरीरमा ओमेगा ३ भन्ने तत्व कमी आउने उनको भनाइ छ । –एजेन्सीको सहयोगमा