२०८१ मंसिर २१

निर्वाचनमा जनताको अभिमतलाई सहजतापूर्वक लिएको छु: गृहमन्त्री खाँण
  • लुम्बिनी खोज
  • २०७९ मंसिर ११, आईतवार ०९:३७ गते
भैरहवा ।
गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरुबीच पाँच वर्षसम्म व्यवस्थालाई मझबुत बनाउँदै नागरिकको अवस्था सुधार्न गठबन्धनको सरकार बनाउने सहमति भएकाले त्यही अनुरुप अगाडि बढिने बताएका छन  । यो गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने पनि खाणले बताए । प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने गृहमन्त्री खाणको भनाइ छ । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ,’ गृहमन्त्री खाणले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ ।
पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको बताए। खाण राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका हुन । । ‘निर्वाचनमा पराजयलाई सहजतापूवक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु,’ गृहमन्त्री खाणले भने। भट्टराई प्रधानमन्त्री हुँदा पनि निर्वाचनमा पराजित भएर नतिजा स्वीकार गर्नुभएको थियो । आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेद्वार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको र त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको खाणले बताए।
गृहमन्त्रीका रुपमा प्रतिनिधि सभा/प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूणर् रुपमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताए । जनताको लामो संघर्षपछि आएको व्यवस्थालाई मझवुत बनाउन गठबन्धन निर्माण गरेर त्यसलाई पाँच वर्ष चलाउनुपर्छ भन्ने विषयको सुत्रधार भएकाले गठबन्धन विरोधीहरुको तारोमा आफू परेको पनि गृहमन्त्री खाणले बताए।

बैठकमा बोल्ने अन्य नेताहरुले गठबन्धनमा रहेका दलहरुका आन्तरिक कारणले राम्रो जनमत हुँदाहुँदै पनि पराजय व्यहोर्नुपरेको बताएका थिए । बैठकमा गठबन्धनका तर्फबाट उम्मेदवार भई प्रदेश सभा (क)मा निर्वाचिन लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेलाई गृहमन्त्री खाणले सम्मान गरेका थिए ।