२०८१ मंसिर २१
कालिका मानविज्ञान माध्यमिक विद्यालयले आफ्नो ६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा जिल्लास्तरीय कालिका रनिङ सिल्ड प्रतियोगिताको तयारी गरेको छ । वार्षिकोत्सव विविध कार्यक्रम गरी पुस १ देखि ७ गतेसम्म सप्ताहव्यापी कार्यक्रमअन्तर्गत जिल्लास्तरीय कालिका रनिङ सिल्ड प्रतियोगिताको आयोजना गरिएको छ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार २४ स्वर्ण, २४ रजत र २४ कांस्य गरी जम्मा ७२ वटा पदकमा प्रतिस्पर्धा हुनेछ । पदकको आधारमा प्रथम, द्वितीय, तृतीय घोषणा गरिनेछ । प्रथम, द्वितीय, तृतीयले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतिस्पर्धामा जिल्लाभरिका सामुदायिक र संस्थागत गरी जम्मा ४५ वटा विद्यालयका एक हजार पाँच सय २५ छात्र र सात सय २५ छात्राबीच हुनेछ ।
भलिबल, कबड्डी, एथलेटिक्स विजेता टिमलाई ट्रफी र मेडल प्रदान गरिनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङकाे प्रमुख आतिथ्यतामा खेलाडीको मार्चपास, झाँकीसहित दोस्रो जिल्लास्तरीय कालिका रनिङ सिल्ड प्रतियोगिताको भव्य रूपमा पुस १ गते बिहान ११ बजे उद्घाटन गरिनेछ ।
६२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस– २०७९ को मूल समारोहमा पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं. २ का संघीय सांसद विष्णुप्रसाद पौडेलद्वारा विजेता टिमलाई सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी खेलकुद कार्यक्रमको समापन गरिनेछ ।
कार्यक्रमको तयारीबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कार्यक्रममा बाेल्दै प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत सुधारको खाँचो रहेको धारणा राखेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष होमबहादुर गलामी, कालिका कलेजका प्राचार्य घनश्याम पाठकलगायतको उपस्थिति रहेको थियो ।