२०८१ कार्तिक ३०

लुम्बिनीमा दानवापत ६१ लाख संकलन
  • लुम्बिनी खोज
  • २०७९ पुष १, शुक्रबार १३:४५ गते

लुम्बिनी,१ पुस ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दान वापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार दानपेटीकाको भेटी गणना सकाएको छ ।
आन्तरीक र वाह्य पर्यटकको संख्या बृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटटै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि हुन थालेको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत शुरु भएकाले छिमेकी देश भारत सहित थाईलेण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनाथी आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सुचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरीक अर्थात नेपालीले ८२ हजार २०५ जनाले भ्रमण गरेका छन ।
यस्तै नोभेम्वर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्यमुलुकबाट ७ हजार ४ सय ७३ जनाले लुम्बिनीमा पाईला टेकेका छन । नोभेम्वरमहिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ । भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन ।