२०८२ श्रावण ५
बुटवल ।
बुटवलमा प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय बुटवल खुला लन टेनिस प्रतियोगिता हुने भएको छ ।
रुपन्देही लन टेनिस सङ्घको आयोजनामा फागुन ६ देखि १० गतेसम्म देवीनगर लन टेनिस कम्प्लेक्समा हुने आयोजकले बताएका छन । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम मेयर कप तथा पाँचौँ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी पूरा भएको सङ्घका अध्यक्ष गोपाल ज्ञवालीले बताए । ज्ञबालीले प्रतियोगितामा एक सयभन्दा बढीको सङ्ख्यामा खेलाडीहरू सहभागी हुने बताए । उनले पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका १ सय बढी खेलाडीहरु र भारत र भुटानबाट समेत विभिन्न उमेर समूहमा भाग लिने जानकारी दिए । उनले खेल अवधिभरमा १८ लाख खर्च अनुमान गरिएको र बुटवल उपमहानगरपालिकाले चार लाख आर्थिक सहयोग गरेको आयोजकले बताएका छन ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले खेलकुद मानव स्वास्थ्यका लागि महत्त्वपूर्ण भएको बताउदै प्रतियोगितालाई सफल बनाउन सबैको सहयोगको खाचो रहेको औल्याए ।
प्रतियोगिता पुरुष एकल खुला, ३५ वर्ष माथि, ४५ वर्ष माथि र ५५ वर्ष माथि, ६५ माथि, महिला एकल खुला, पुरुष युगल खुल्ला, महिला युगल खुला, पुरुष भेट्रान्स ३५ माथि युगल, पुरुष भेट्रान्स ४५ माथि, पुरुष भेट्रान्स ५५ माथि र ६५ माथि गरी कुल १२ इभेन्टमा सञ्चालन हुनेछन ।
प्रतियोगिताको पुरुष–महिला सिङ्गलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्र तथा तृतीय दुई जना खेलाडीलाई जनही २० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । सिङ्गलतर्फ नै पुरुष ३५ वर्ष माथिको विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः नगद ३० हजार, १५ हजार र १० हजार रुपियाँ, ४५ वर्षमाथिका विजेता, उपविजेता तथा तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपियाँ कप, मेडल, प्रमाणपत्रबाट तथा ५५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता र तृतीयलाई क्रमशः २० हजार, १० हजार र ५ हजार रुपियाँ, कप, मेडल, प्रमाण पत्रबाट पुरस्कृत गरिनेछ ।
यसैगरी ६५ वर्षमाथि उमेर समूहको विजेता, उपविजेता तथा तृतीय खेलाडीलाई क्रमशः १५ हजार, ७ हजार ५ सय तथा ५ हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । यसैगरी डबल्सतर्फ पुरुष डबल्स–महिला डबल्सको उपाधि विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार रुपियाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । यसैगरी भेट्रान्स डबल्सतर्फ ३५–४५–५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजार रुपियाँसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । १२ विधामा खेलाइने प्रतियोगिताको पुरस्कारमा ५ लाख २२ हजार ५ सय रुपियाँ तथा कुल १८ लाख ७२ हजार ५ सय रुपियाँ खर्च हुने आयोजकको अनुमान छ ।
कार्यक्रममा खेल संयोजक तथा निवर्तमान अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठ, प्रचार संयोजक तथा सङ्घका सचिव सबर मिया ,खेलकुद पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारी लगायतको सहभागिता रहेको थियो ।