२०८१ श्रावण १२

बुटवलमा शुरु भयो राष्ट्रपति रनिङ शिल्ड
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ४, बिहीबार १२:४८ गते

बुटवल, ४ फागुन ।
बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ ।
प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्दै खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए ।
उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै शुरुवात गर्नुपर्ने बताउँदै विद्यालयतहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधै तयार रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताए । प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी रहेको उनले बताए ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति गरेका थिए ।