२०८१ श्रावण १२

स्कटल्यान्ड २१२ रनमा अलआउट, नेपाललाई २१३ रनको लक्ष्य
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन ९, मंगलवार ०७:३८ गते

काठमाडौ ।

त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्ड दुई सय १२ रनमा अलआउट भएको छ । नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्ड ४६.१ ओभरमा अलआउट भएको हो ।  नेपालले अन्तिम म्याचमा दुई सय १३ रनको लक्ष्य पाएको छ ।

सन्दीप लामिछानेले चार तथा करन केसीले तीन विकेट लिएपछि स्कटल्यान्ड ५० ओभरअघि नै अलआउट भएको हो । १० ओभर बलिङ गरेका सन्दीपले ४५ रन दिएर चार विकेट लिए ।  ८.१ ओभर बलिङ गरेका करनले ४२ रन दिएर ३, ललित राजवंशीले १० ओभरमा ३३ रन दिएर एक तथा कुशल मल्लले ६ ओभरमा ६० रन दिएर एक विकेट लिए ।  सात ओभर बलिङ गरेका सोमपाल कामीले २३ रन दिए । उनले विकेट लिन सकेनन् । पाँच ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २९ रन दिए भने विकेट लिन सकेनन् ।  आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई शानदार रूपमा हराएको थियो ।

त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा जारी आजको खेलमा पनि नेपालले टस जित्यो । टस जितेर नेपालले फिल्डिङ रोजेपछि स्कटल्यान्ड ब्याटिङमा उत्रिएको थियो ।  स्कटिस ओपनरहरूले नेपालका फास्ट बलरहरूविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण केसीले नेपाललाई सुरुवाती सफलता दिलाउन सकेका थिएनन् ।  यस्तोमा आठौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमै विकेट लिए । सन्दीपले आफ्नो दोस्रो ओभरको पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिए भने चौथो विकेट आफ्नो पाँचौँ ओभरमा लिन सफल भए ।

विस्फाेटक अन्दाजमा खेलिरहेका जर्ज मुन्सेलाई सन्दीपले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो । लगत्तै कुशल मल्लले पनि एक विकेट लिएपछि नेपालले खेलमा आफ्नो नियन्त्रण कायम गर्‍याे ।