२०८१ श्रावण १२

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी
  • लुम्बिनी खोज
  • २०७९ फाल्गुन १९, शुक्रबार १२:५६ गते

भैरहवा,१९ फागुन ।

बुटवल–११ क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को शुक्रबारको खेलमा विजयी भएको छ । बुटवल–११ ले बुद्ध क्रिकेट क्लबलाई ४६ रनले पराजित गर्दै विजयी भएको हो ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा २ सय ६५ रनको योगफल बनायो । उसका लागि इशान पाण्डेले शतकीय पारी खेल्दै १ सय २ रन बनाए । यस्तै, अशोक पौडेलले ६०, विवेक शर्माले १९, हिमाल पुनले १५ र दीपक गौचनले १२ रनको योगदान दिए । बलिङमा बुद्धका कमल परियार र अजय त्रिपाठीले २–२ तथा कृष्ण पौडेल, सुरज गुरुङ, विपिन न्यौपाने र अमित अग्रहरीले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुद्धले ९ विकेटको नोक्सानीमा २ सय १९ रन मात्रै बनायो र हार ब्यहोर्यो । उसका लागि अर्जुन चौधरीले ४३, मिथलेस यादवले ३३, राकशिुन यादवले नटआउट २५ र सुरज पौडेलले २३ रन बनाए । बलिङमा बुटवल–११ का इशान पाण्डेले ३, सुदन श्रेष्ठ र हरिबहादुर चौहानले समान २–२ तथा तौसिफ आलम र अशोक पौडेलले १–१ विकेट लिए । बुटवल–११ का इशान पाण्डे म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।