२०८१ श्रावण १२

राष्ट्रिय क्रिकेट टीमका खेलाडी मल्ललाई बुटवलमा सम्मान
  • लुम्बिनी खोज
  • २०७९ चैत्र ६, सोमबार ०७:०९ गते

 

बुटवल ६चैत ।
बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई नगदसहित सम्मान गरेको छ।

बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गरे ।कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको भन्दै उनले बुटवलमा राष्ट्रिय स्तरका खेलकुद आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र मर्मतसम्भार तथा संरक्षणमा बुटवलले निरन्तर काम गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेलक्षेत्रको हौसला बढाएको भन्दै बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको बताए । खेलाडी कुशल मल्लले बुटवल उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए।