२०८१ श्रावण १२

रुपन्देही उद्योग संघमा स्थापना गरिएको सिएनसि अपरेटर तालिमको शुभारम्भ
  • लुम्बिनी खोज
  • २०७९ चैत्र १३, सोमबार ११:५१ गते

बुटवल, १३ चैत ।
रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहकार्यमा रुपन्देही उद्योग संघमा स्थापना गरिएको क्षमता विकास ईकाईको आयोजनामा बुटवल टेक्नीकल इन्ष्टिच्यूटको व्यवस्थापनमा ९६ घण्टे सिएनसि अपरेटर तालिमको सोमबार शुभारम्भ भएको छ ।
कार्यक्रमको रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलले शुभारम्भ गर्दै परिवर्तित सन्दर्भमा उद्योग संचालनमा आएको नयाँ प्रविधि र शैलीलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भन्ने उद्देश्यले संघले सिप परियोजना अन्तरगत तालिमको आयोजना गरेको जानकारी दिए । उनले तालिमबाट उद्योगहरुको उत्पादन क्षमता बढाउन र लागत खर्च कम गरी सेवा एवं सुविधा थप्ने बाटाहरु दिन सक्ने धारणा राखे ।
कार्यक्रममा बुटवल टेक्निकल इष्टिच्यूटका डाइरेक्टर ई.अभिमन्यू भिमार्जुन पन्थीले विटिआईले संचालन गर्ने तालिमले विश्वमै मान्यता प्राप्त गर्ने हुँदा तालिममा सहभागिहरुलाई प्रशिक्षणमा गम्भिर भएर बस्न आग्रह गरे ।
कार्यक्रममा इन्स्योर प्रोग्रामका टेक्निकल कोर्डिनेटर चक्रपाणी तिमिल्सीनाले नीजि क्षेत्रका उद्योगीहरुको माग र आवश्यकता अनुसार सिएनसी तालिम संचालन गर्न लागेको र त्यसबाट उद्योगको उत्पादन बढाउन सहयोगी बन्ने अपेक्षा व्यक्त गरे ।
तलिममा कोभिडका कारणले वेरोजगार भएका, बैदेशिक रोजगारीबाट फर्केका, र सम्बन्धित विषयमा विभिन्न उद्योगमा कार्यरत २० जना दक्ष कामदारको सहभागीता रहने जनाइएको छ । ९६ घण्टा तालिम अवधि रहेकोमा विटिआई र कोरियन टेक्निकल इष्टिच्यूटका प्राविधिकहरुले २० प्रतिशत विषयगत र ८० प्रतिशत प्रयोगात्मक ज्ञान दिने रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराए ।
कार्यक्रमको संचालन बुटवल टेक्नीकल इन्ष्टिच्यूटका कार्यक्रम संयोजक मनोज भट्टराईले संचालन गरेका थिए ।