२०८१ श्रावण १२

नवीन माविद्धारा उत्कृष्ट सामुदायिक विद्यालयहरुको अवलोकन
  • लुम्बिनी खोज
  • २०८० बैशाख ६, बुधबार ०८:३९ गते

बुटवल, ६ बैशाख ।
सामुदायिक विद्यालयहरुमा अब्बल मध्येको एक बुटवल देवीनगर स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. को एक प्रतिनिधि मण्डलले नेपालका उत्कृष्ट सामुदायिक विद्यालयहरुको अवलोकन भ्रमण गरि अन्तरक्रिया सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक तथा कर्मचारीहरु सहभागी रहेको अवलोकन भ्रमणले गण्डकी प्रदेशको अब्बल वेनी सामुदायिक मा.वि.को अवलोकन भ्रमण गरि वेनी सामुदायिक मा.वि.ले अवलम्बन गरेका असल अभ्यासहरु र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. ले अवलम्बन गरेका असल अभ्यासहरु वेनी सामुदायिक मा.वि.का प्रधानाध्यापक दिपक श्रेष्ठले र नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले प्रस्तुत गरेका थिए।
वेनी सामुदायिक मा.वि.मा शैक्षिक सत्र २०७९ मा १२४९ विद्यार्थीहरु रहेका छन् । विद्यालयको स्वामित्वमा ५ रोपनी जग्गा रहेको छ । विद्यालय २०६९ मा नेपालकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको थियो । लगातार २०६७ देखि २०७२ सम्म ६ पटक सम्म एसएलसी परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गरेको थियो । उक्त अन्तरकृया भ्रमण कार्यदलकी संयोजक एवं वि.व्य.स. सदस्य कमला भण्डारी ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले गरेका थिए ।
पोखरा उपमहानगरपालिका वडा नं. १६ बाटुलेचौरमा २००४ मा स्थापना भएको विन्दवासिनी मा.वि. को आर्दश वाक्य “गुणस्तरीय शिक्षाको लागि अनुशासन र समपर्ण” रहेको छ । विद्यार्थी सम्मान तथा प्रोत्साहन कार्यक्रममा त्रैमासिक परीक्षामा ८० प्रतिशत वा बढी ल्याउने परीक्षार्थीलाई हेड टिचर अवार्ड, राष्ट्रिय वोर्ड परीक्षामा ३.६ जीपिए भन्दा माथि ल्याउने परीक्षार्थीलाई नगद पाँच हजार पाँच सय पचपन्न सहित विन्दवासिनी विद्या पदक प्रदान र राष्ट्रिय वोर्ड परीक्षामा ४ जीपिए ल्याउने विद्यार्थीलाई नगद पचास हजार पुरस्कार सहित सम्मान गर्ने, शिक्षक तथा कर्मचारीलाई संचय कोष १० प्रतिशत र उपदान वापत ६ प्रतिशत थप गरी जम्मा गर्ने व्यवस्था र क्या.वि र पर्व विदा संचित भएमा नगदको व्यवस्था ३१ जना सरकारी शिक्षक तथा कर्मचारी र ४७ जना शिक्षक तथा कर्मचारी विद्यालय स्रोतबाट रहेका छन् ।
विद्यालयको आम्दानीको स्रोत महेन्द्र गुफा र चमेरे गुफाको आम्दानी रहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र २०७९ को प्रतिवेदन अनुसार विद्यालय नेपाल प्रथम हुन सफल भएको छ । विद्यालयको स्वामित्वमा १२ रोपनी जग्गा रहेको छ । विद्यालयमा १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उक्त अवलोकनको क्रममा विन्दवासिनी मा.वि. का निमित्त प्रधानाध्यापक राम बहादुर वानियाँ, विद्यालयका सूचना प्रविधि शिक्षक खेमराज पौडेल, शिक्षक ईश्वर खड्काले विद्यालयको बारेमा प्रकाश पारेका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल अभ्यासहरु प्रस्तुत गरे ।
अवलोकनको क्रममा नेपालकै उत्कृष्ट विद्यालय अमरशिह नमुना मा.वि. रामघाट पोखरा १२ मा २०१३ मा स्थापना भएको विद्यालयमा हाल करिव तीनहजार विद्यार्थीहरु रहेका छन् १ सय५७ शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् विद्यालयको स्वामित्वमा दुइ सय सात रोपनी जग्गा रहेको छ । विद्यालय राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ र १२ को बोर्ड परीक्षाको आधारमा २०७५ र २०७६ मा नेपाल प्रथम भएको थियो । चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षा २०२२ मा उक्त विद्यालयका सुजल पौडेलले एक नम्बरमा नाम निकालेका थिए ।
विज्ञान समुहमा प्रत्येक वर्ष करिव दुई हजार विद्यार्थीबाट प्रवेश परीक्षा लिई तीन वटा सेक्सन एक सय पचास जनालाई नयाँ भर्ना लिने गर्दछ ।
उक्त विद्यालयमा गरिएको अन्तरकृयामा नेपालमा जनसंख्यामा दोस्रो ठुलो वडा बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विद्यालयका संरक्षण रामचन्द्र क्षेत्री, बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले प्रतिनिधि मण्डलको नेतृत्व गर्दै धारणा राखेका थिए। अमरसिंह नमुना मा.वि.का प्रधानाध्यापक तेजस्वी बरालले विद्यालयको बारेमा अवलम्वन गरिएका असल अभ्यासहरू राखेका थिए । नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले नवीन औद्योगिक का असल अभ्यास साझेदारी गरेका थिए । भ्रमण कार्यदल संयोजक कमला भण्डारी ज्ञवालीको अध्यक्षतामा आयोजित अन्तरकृयामा अमरसिंह नमुना मा.वि. विद्यालय व्यवस्थापन समितिका सदस्य बलराम ढुंगानाले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रेम बहादुर बस्नेतले गरेका थिए ।
अवलोकन भ्रमणको क्रममा प्रतिनिधि मण्डलले कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेद बहादुर थापा मगर र गाउँपालिकाका शिक्षा अधिकृत अग्नीधर पराजुलीसंग कालिगण्डकी गाउँपालिकाको शिक्षाको गुणस्तर विस्तारमा गहन छलफल गरेको थियो ।
भ्रमण कार्यदलमा वि.व्य.स.सदस्यहरु भरत कुमार रसाली, राजेन्द्र ढकाल, सिमा पुन, श्रीमाया श्रेष्ठ, केशवराज पन्थ, शिक्षक अभिभावक संघका जेष्ठ सदस्य वासुदेव भुसाल, सदस्यहरु राजाराम वि.क., लिला भण्डारी, शोभा नेपाल, शंकर परियार, सहायक प्रधानाध्यापक द्वय रोमनाथ घिमिरे र अर्जुन खनाल, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, आइटी इन्चार्ज राकेश अग्रहरी, आइएसए कोर्डिनेटर जु.ई.आशिष लामिछाने लगायत सन्ताउन्न जनाको सहभागिता रहेको प्रधानाध्यापक बस्नेतले बताए ।