२०८१ श्रावण १२

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त
  • लुम्बिनी खोज
  • २०८० बैशाख ९, शनिबार १५:५९ गते

बुटवल, ९ बैशाख ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। उनले विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका हुन्।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ३१ मत आवश्यक रहेकोमा उनको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको हो। अधिकारीको पक्षमा एमालेका २२ र राप्रपाका दुई गरी २४ जनाले मत राख्दा नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्र का ७ र नेकपा एकीकृत समाजवादीका १ जनाले विपक्षमा मतदान गरेका थिए।

नेकपा एमाले २२, नेकपा माओवादी केन्द्रका आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका र पछि एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङ गरी ३३ जनाको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा २५ पुसमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

सभामुखसहित आठ सदस्य रहेको माओवादीले १० चैतमा मुख्यमन्त्रीलाई दिएको समर्थन फित्ता लिएसँगै मुख्यमन्त्री अधिकारी अल्पमतमा परेका थिए।

अल्पमतमा परेको ३० दिनभित्र विश्वास मत लिनुपर्ने कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका हुन्।