२०८१ श्रावण १२

ज्येष्ठ नागरिकको घरमैं स्वास्थ्य परीक्षण
  • लुम्बिनी खोज
  • २०७८ मंसिर १२, आईतवार ०८:१३ गते

बुटबल १२ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रमअनुसार हरेक वडामा ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुको घर–घरमैं पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुको साथैं निःशुल्क औषधि समेत प्रदान गरेका छन् । १७ वडामैं सरकारी स्वास्थ्य संस्था पुर्याएको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधी दिइने र स्वास्थ्य समस्या जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् । रोगको समयमैं पहिचान हुँदा त्यसको उपचार सहज हुने भएकोले यो कार्यक्रम प्रभावकारी हुने नगरपालिको अपेक्षा छ । नगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर यो कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाले विभिन्न ११ थरी औषधी र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।तिलोत्तममा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेको स्वास्थ्य शाखाले जनाएको छ ।