२०८१ श्रावण १२

लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार पठाइँदै
  • लुम्बिनी खोज
  • २०८० बैशाख १५, शुक्रबार १३:२१ गते

लुम्बिनी,१५ बैशाख ।
बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया लगिने भएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान गर्ने भएका हुन् । यहि बैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्र्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए । कार्यक्रममा सहभागी हुन जानुअधि शुक्रबार उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालिन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ ।
बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालिन कालानमक धानको चामल माग गर्नुले बौद्धपरम्परामा यो चामलको महत्व उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले बताए । ‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुशीको कुरा हो’ भिक्षु मेत्तेयले भने –‘हामीले राज्य उपहार स्वरुप कालानमक चामल दिन लागेका हौं ।’ कपिलबस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रुपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाई छ ।
बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूणिर्मामा कालानमक रोपेर धान मंगलोत्सव गरिने ईतिहासमा उल्लेख छ । बुद्धकालीन महत्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताए । कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्वपूर्ण ऐतिहासिक एंव साँस्कृतिक महत्वको क्षेत्रका रुपमा विकास गर्न छलफल गर्नेछन् । साथै दुई देशका जनताविचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका बिषयमा समेत छलफल गर्ने छन् ।
खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ । तर, बौद्धसम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालिन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्ने छन् ।
यो चामलमा पोटासियम, प्रोटिन, फाईबर, भिटामिन बी, आईरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ ।