२०८१ कार्तिक ३०

२५६७औँ बुद्धजयन्तीको तयारी पूरा
  • लुम्बिनी खोज
  • २०८० बैशाख २१, बिहीबार १६:३९ गते

बुटवल   ,२१ बैशाख ।

२५६७औँ बुद्धजयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शान्तिदीपमा दीप प्रज्वलन र प्राथना गरेर बिहीबार साँझ बुद्धजयन्तीको शुभारम्भ गरे ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले औपचारिक कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बिहीबार साँझ मन्त्री किराँतीले मायादेवि मन्दिर परिसरमा दीप प्रज्ज्वलन र परित्राठ पाठ गरेका छन् ।

जयन्ती मनाउन बुद्ध जन्मस्थल लुम्बिनी रङरोगन र सरसफाइ गरी सिंगारिएको छ । मन्दिर परिसर, अशोक स्तम्भलगायतका क्षेत्र सफा गरेर सुन्दर बनाइएको छ भने मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती जडान गरिएको छ ।

लुम्बिनी वरिपरि स्वागतद्वार तुल, ब्यानर राखिएको छ । शुक्रबार हुने औपचारिक कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् । यसपटक बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० मनाउन एक करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

यसपटक नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रमुख, राजदूतलगायतलाई निमन्त्रणा गरिएको छ । शुक्रबार साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलनसहित महापरित्राण गरिएको छ ।

शुक्रबार बिहान ६ बजे पूर्णिमा पाठ पूजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभाहलसम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुनेछ । त्यसैगरी,  समारोह समापनलगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पत्राचार तथा स्थानीय भेषभुषामा साँस्कृतिक कार्यक्रम हुनेछ ।

‘वैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म बुद्धको अस्थिधातु यात्रासमेत हुने लुम्बिनी विकास कोषका सदस्यसचिव सानु राजा शाक्यले बताए ।

अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री सुशीला श्रीपालीले गर्ने कार्यक्रम तय भएको छ ।

बुद्धजयन्तीको भोलिपल्ट २३ गते तिलौराकोटमा हुने मायादेवी शोभायात्राको नेतृत्व कृषि तथा पशुपंछि विकासमन्त्री वेदुराम भुसालले गर्नेछन् । बोधिसत्व सिद्धार्थलाई तिललौराकोट भित्राउँदै गरेको प्रतीक स्वरूप मायादेवि शोभायात्रा हरेक वर्ष बुद्धजयन्तीको भोलिपल्ट गर्ने गरिएको छ ।