२०८१ श्रावण १२

टोपबहादुरको खोजी गर्न प्रहरीले लग्यो सीसीटीभी फुटेज
  • लुम्बिनी खोज
  • २०८० बैशाख २९, शुक्रबार १३:३८ गते

काठमाण्डौं २९ बैशाख ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउपुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद्‍ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।
रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो । मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद्‍ सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‍ सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

एमालेका रायमाझी भने फरार छन् ।कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।