२०८१ पुष ७

सडक अनुशासन पालना गर्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० बैशाख ३१, आईतवार ०८:५६ गते

बुटवल, ३१ बैशाख ।

सडक प्रयोगकर्ता सबैले सडक अनुशासन पुर्णरुपमा पालना गरेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बिश्वास सरोकारवाला निकायका प्रतिनिधीहरुले गरेका छन ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिद्वारा आयोजित सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि चालक प्रशिक्षण कार्यक्रममा मानविय कारणबाट नै सर्वाधिक सवारी दुर्घटना भै धनजनको क्षति भएको कुरामा जोड दिँदै सडक प्रयोगकर्ताहरु सबैले सडक अनुशासन पालना गरेमा दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका हुन । जिर्ण सडक, थोत्रा गाडी र सिकारु चालकका कारण पनि सडकमा सवारी दुर्घटना हुने गरेको उल्लेख गर्दै सरोकारवाला निकायका प्रतिनिधीहरुले सवारी चालक र यातायात मजदुरहरु शारिरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्ने कुरामा जोड दिएका छन ।

चालकको लापरवाही, सडकको दुरावस्था, यान्त्रिक गडबढी र पैदल यात्रुको लापरवाही आदी सवारी दुर्घटनाका प्रमुख कारणहरु रहेको सम्बन्धित क्षेत्रका बिषय बिज्ञहरुले बताएका छन् । तीब्रगतीमा सवारी चलाउने, सडकमा ओभरटेक र ओभरलोड तथा दैवी प्रकोपका कारण पनि अधिक सवारी दुर्घटना भै बर्षेनी करोडौं बराबरको धनजनको क्षति हुने गरेको सरोकारवाला बताउछन् । सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि चालक प्रशिक्षण कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी उपरिक्षक कृष्ण प्रसाईले सरोकारवाला निकाय र सडक प्रयोगकर्ताहरु सबै जिम्मेबार भएमा सवारी दुर्घटना न्यूनिकरण अभियान सफल हुने दावी गरे । सवारी दुर्घटना न्यूनिकरणका लागि प्रहरी मात्र जिम्मेबार नभै समाजका सबै नागरिक सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिदैं उपरिक्षक प्रसाईले यातायात ब्यबसायी, मजदुर र यात्रुहरु सबै उत्तिकै जिम्मेबार बन्नु पर्ने बताए ।

वरिष्ठ प्रहरी सहायक निरिक्षक एवं कार्यक्रमका प्रशिक्षक ज्ञानु पाण्डेले सवारी दुर्घटना न्यूनिकरणमा सवारी चालकहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुने कुरामा जोड दिए । चालक, सहचालक लगायतका यातायात मजदुरहरु पुर्णरुपमा सचेत र जिम्मेबार भएमा दुर्घटना न्यूनिकरण हुने बताए । मादक पदार्थ सेवन गरेर गाडी चलाउने, गाडीको यान्त्रिक अवस्थाबारे जानकारी नराख्ने, सवारी र चालकको कागजपत्र दुरुस्त नराख्ने लगाएतका कमिकमजोरी हटाएर जिम्मेबार बन्न समेत आग्रह गरेका छन् । सो अवसरमा पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक एवं सवारी ब्यबस्थापन तथा दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यातायात क्षेत्रका समस्या, सवारी ब्यबस्थापन, अनुगमन र दुर्घटना न्यूनिकरणका उपायहरुबारे चर्चा गरेका थिए ।

प्रालिका संचालक तथा दुर्घटना न्यूनिकरण कार्यक्रमका सचिव जितेन्द्र खत्रीको संचालनमा भएको सो कार्यक्रममा लेखा संचालक मोहन पिएस, नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रिय सदस्य कृष्ण कंडेल, नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, अखिल नेपाल मजदुर संगठन रुपन्देहीका अध्यक्ष कुम बहादुर नेपाली, पत्रकार हरिश ढकाललगायतले दुर्घटना न्यूनिकरणका उपाय र चालकहरुको भुमिकाबारे चर्चा गरेका थिए ।