२०८१ श्रावण १२

संघको अध्यक्ष हुन १२ वर्ष काम गरेको हुनुपर्ने
  • लुम्बिनी खोज
  • २०७८ मंसिर २१, मंगलवार ००:५६ गते

बुटवल, २० मंसिर । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्ष हुन अब कम्तिमा १२ वर्ष विभिन्न पदमा रहेर काम गरेको हुनु पर्नेछ । संघको अध्यक्षको उम्मेद्वार हुन एक कार्यकाल पदाधिकारी, त्यस अगाडि २ कार्यकाल कार्यसमिति सदस्य हुनु पर्नेछ ।
कार्यसमिति सदस्य हुनको लागि पनि कम्तिमा तीन वर्ष लगातार संघको सदस्यता नविकरण गरेको हुनुपर्ने गरि संघको विधान संशोधन गरिएको छ । त्यस्तै सहकोषाध्यक्ष र सम्वद्धबाट एक सदस्य गरि दुई पद थप गरिएको छ । त्यसैगरी सेवा क्षेत्रबाट एक सदस्य पदमा मनोनित गर्ने व्यवस्था थप गरिएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८ औं वार्षिक साधारण सभाले विधान संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो । संघको विधान संशोधन समितिका संयोजक, सल्लाहकार तथा पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले विधानमा संशोधन प्रस्ताव प्रस्तुत गर्दै गैरनाफामुलक संस्थाको विद्यमान ऐन, नियम कानुनको परिधिमा रहेर विधान संशोधन प्रस्ताव गरिएको बताए । उनले संस्थालाई अझै बलियो बनाउन र अध्यक्षको कार्यकुशलता ससक्त बनाउन यस्तो व्यबस्था गरिएको जानकारी गराएका थिए । संशोधित विधान स्वीकृतिमा आवश्यक थप निर्णय लिन साधारण सभाले कार्यसमितिलाई अख्तियारी प्रदान गरेको छ ।
त्यस्तै सल्लाहकार सभालाई परिषद बैठक बनाईएको छ । साधारण सभाबाट पारित उक्त संशोधित विधान जिल्ला प्रशासन कार्यालयले स्वीकृति दिएपछि मात्रै कार्यान्वयन हुने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
त्यस्तैगरी प्रस्ताव समितिका संयोजक, कार्यसमिति सदस्य प्रतीक पोखरेलले प्रस्तुत गरेको ९५ बुदे प्रस्ताव पनि पारित भएको छ । साधारण सभामा महासचिव बिमलराज भट्टराईले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नवीन श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ ।