२०८१ श्रावण १२

क्यान्टोनमेन्ट प्रकरणमा दोषी देखिए जेल जान तयार छुः प्रधानमन्त्री
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ४, बिहीबार ०९:२० गते

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टोनमेन्टमा भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको भन्दै दोषी देखिए जेल जान तयार रहेको बताएका छन ।
शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोप पूर्वाग्रही भएको भन्दै उनले यो विषयमा दोषी देखिए आफैं जेल जान समेत तयार रहेको बताए ।

संसदमा बिहीबार भएको प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ८ हजार ४६० जना पूर्व लडाकुका नाममा राज्यकोषबाट अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो भनेर प्रश्न गरेका थिए ।

जवाफमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्नु आरोपका निम्ति आरोप मात्र भएको बताए ।

शान्ति सम्झौता भएर क्यान्टोनमेन्टमा पूर्व जनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि भौतिक पूर्वाधार र रासनपानीको निम्ति भनेर राज्यबाट दिएको रकमको अडिट भएको उनले बताए । ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डा। रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरू समेतले रुजु गरिसकेपछि त्यो पटाक्षेप भइसकेको कुरा हो’ उनले भने, ‘यसलाई राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने गरेको देख्दा म आफैं आश्चर्यमा परेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणबाटै सुशासनको थालनी गर्ने पनि बताए।

सांसदहरूले राखेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धानमा कतैबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाएका छन्।