२०८१ श्रावण १२

दुग्ध व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ८, सोमबार ०७:४३ गते

बुटवल ८ जेठ ।
दुग्ध व्यवसायमा अस्वस्थ्य प्रतिस्पर्धाका साथै बजारमा न्यून गुणस्तरको दुध विक्रि वितरण भईरहेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिईएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा संघ अन्तरगत गठित डेरी बस्तुगत समितिको संयोजनमा बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा उक्त कुरामा जोड दिईएको हो ।
उपभोक्तलाई स्वच्छ र स्वस्थ्यकर दुध तथा दुग्धजन्य उत्पादनको परिपूर्तिका लागि नियमनकारी निकायले कडाईका साथ मापदण्ड कार्यान्वयन गर्नुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू बताउछन । उनले अस्वस्थ्य प्रतिस्पधा गर्ने व्यवसायीका कारण मापदण्ड अनुसार सञ्चालन भएका व्यवसायलाई चुनौती भएको बताउँदै सम्बन्धित व्यवसायीहरु एकजुट भएर मापदण्ड कार्यान्वयनको लागि पहल गर्न पनि सुझाव दिए ।
बुटवल उपमहानगरपालिका शिक्षा, स्वास्थ्य तथा वित्त महाशाखा प्रमुख मित्रमणी खनालले बजारलाई व्यवस्थित गर्नको लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए । उनले दुधको गुणस्तर, खाद्य ऐन, अनुगमन, व्यवसाय दर्ता, मापदण्ड लगायतका बारेमा पनि जानकारी गराए ।
डेरी बस्तुगत समितिका सभापति गणेशसिंह भण्डारीले विना दर्ता व्यवसाय गरिरहेका व्यवसायीलाई दर्ताको प्रक्रियामा आउन र मापदण्ड पालना गर्न आग्रह गरे । नेपाल डेरी एशोसिएसनका थानेश्वर न्यौपाने, व्यवसायीहरु गोपाल पौडेल, जीवलाल न्यौपानेलगायतले व्यवसायीका समस्या तथा चुनौतीहरुको बारेमा धारणा राखेका थिए ।
त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, महासचिव विमलराज भट्टराइ, कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, उपभोक्त हित संरक्षण मञ्चका समुन्द्र जिसी, लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख योगेश्वर शाह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका कार्यालय प्रमुख विमलकुमार दाहाललगायतले मापदण्डको पालना गर्दै मर्यादित व्यवसाय सञ्चालनको लागि आग्रह गरे ।