२०८१ श्रावण १२

जनस्वास्थ्यदेखि वातावरणमा असर पार्ने प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणको उचित व्यवस्थापनमा जोड
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ११, बिहीबार १२:१२ गते

बुटवल ११ जेठ ।
प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणहरूको उचित व्यवस्थापन हुन नसक्दा जनस्वास्थ्यदेखि वातावरणमा नै असर पर्ने भन्दै यसको उचित व्यवस्थापनमा जोड दिइएको छ।

प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणहरूको पुनः प्रयोग तथा व्यवस्थापसम्बन्धी अन्तरक्रियामा सहभागी सरोकारवालाले यसका लागि तीनवटै तहका सरकार र सरोकारवालाहरू संवेदनशील हुनुपर्नेमा जोड दिए। प्रयोग नभएर थन्किएका इलेक्ट्रोनिक्स उपकरणहरूको व्यवस्थापनसम्बन्धी नीति आवश्यक रहेको र त्यसका लागि छलफलहरूमार्फत सरोकारवाला पक्षका सुझाव ग्रहण गरेर अगाडि बढ्नुपर्नेमा पनि जोड दिइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार बुटवलमा गरेको कार्यक्रममा यससम्बन्धी जनचेतनामूलक कार्यक्रमको खाँचोसमेत औँल्याइएको छ। कार्यक्रममा बोल्दै प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणहरूले पार्ने असरलाई ध्यान दिँदै उचित व्यवस्थापनमा लाग्नुपर्ने धारणा राखे। उचित व्यवस्थापन हुन नसके वातावरण तथा जनस्वास्थ्यमा असर पर्ने भन्दै उनले व्यवस्थापनका लागि विभिन्न क्षेत्रबाट आएका सुझाव तथा अन्तर्राष्ट्रिय अभ्यासहरू अध्ययन गरेर सरकारलाई सुझाव दिने बताए।

कार्यक्रममा महत्वपूर्ण सुझाव आएको भन्दै निर्देशक अर्यालले प्राधिकरण रचनात्मक कामका लागि सरोकारवालासँग सहकार्य तथा समन्वय गरेर अगाडि बढ्ने उल्लेख गरे।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड लुम्बिनी प्रदेश कार्यालयका प्रबन्धक डा। कमल लामिछानेले प्रयोगविहीन इलेक्ट्रोनिक्स उपकरणको व्यवस्थापन निकै महत्वपूर्ण विषय रहेको बताए। कसरी पुनः प्रयोग गर्न सकिन्छ भन्नेमा अध्ययन भइरहेको जानकारी दिँदै उनले यस्ता उपकरण अन्य फोहोरसँगै फ्याँक्दा फोहोरमैला व्यवस्थापनमा काम गर्नेहरूको स्वास्थ्य जोखिममा पर्ने उल्लेख गरे।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बजारमा तारहरूको व्यवस्थापनमा उपमहानगरपालिका लागिपरेको बताए। सडकका पोलहरूमा जथाभावी तार राख्ने प्रवृत्ति बढेको अवस्थामा त्यसलाई व्यवस्थित गर्न उपमहानगर लागिपरेको भन्दै उनले यस किसिमका कार्यक्रमहरूमा सहकार्य गर्न तयार रहेको बताए।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले कवाडी क्षेत्रमा काम गर्नेहरूलाई सहुलियत दिनुपर्ने बताए। उनले इन्टरनेटको शुल्क महँगो भएको भन्दै घटाउनुपर्नेमा जोड दिए। क्यान महासंघका रुपन्देहीका अध्यक्ष माधव अर्यालले यस किसिमका कार्यक्रम सबै पालिकामा गर्नुपर्ने आवश्यकता रहेको बताए।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका बातावरण विभागका ठगेश्वर पोखरेल, लुम्विनी प्रदेश मोवाइल वितरक संघका पूर्व अध्यक्ष धर्मेन्द्र गुप्ता, वातावरण विद डिल्लीराज बेल्वासे, संचारकर्मी घनश्याम रिजाल, नेपाल पुर्न प्रयोग योग्य वस्तु ब्यवसाय संघ रुपन्देहीका सचिव पवनकुमार सोनार, बुटवल मोवाइल एशोसिएसनका अध्यक्ष विष्णु ज्ञवालीलगायतले यस किसिमको छलफल तथा अन्तरक्रियाले नीति निर्माणका लागि सहयोग पुग्ने बताएका थिए ।