२०८१ श्रावण १२

पशुपतिनाथको जलहरी विवाद :प्रतिनिधिसभाकाे बैठक शनिबारसम्मका लागि स्थगित
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ १२, शुक्रबार १६:२९ गते

काठमाडौ,१२ जेठ ।

नेकपा  एमालेका सांसदहरूले अवरोध गरेपछि २० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलि शनिवारसम्मका लागि स्थगित भएको छ ।आज शुक्रवार दिउँसाे साढे १२ बजेदेखि स्थगीत भएको बैठक २० मिनेटमा बस्न नसकेपछि ३ बजे र त्यसपछि पनि बस्न नसकेपछि ६ बजेका लागि बोलाइएको थियो । तर तोकिएको समयमा पनि बैठक बस्न सकेन । आज बैठक बस्न नसकेपछि भोलि दिउँसो ४ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजकाे बैठकमा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले अवरोध गरेका हुन् । उनीहरूले जवाफ नदिएसम्म संसद् चल्न नदिने अडान लिएका छन् ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसमाथि संसद्ले गर्न सक्ने कार्यका सम्बन्धमा पटक–पटक सर्वदलीय छलफल भएको छ । तर निचोड निस्किएन ।

नेताहरूका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ । कुनै हालतमा माओवादी सांसदले माफी माग्नुपर्ने एमालेको अडानका कारण सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसले पशुपतिको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीमाथिको आरोप उचित नरहेको भनेर जाने गरी मध्यमार्गी प्रस्ताव गरेको छ । तर यसमा पनि एमाले र माओवादी केन्द्र सहमत भएका छैनन् ।

प्रतिनिधि सभाको बैठकमा गएको आइतवारदेखि सरकारकाे नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची थियो ।